–अनन्त्य सुन्दर
काठमाण्डौ । बढ्दो ब्याजदर, तरलता चाप, राजनीतिक प्रभाव, नीतिगत प्रभावलगायतले नेपाली सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ।
झन्डै ३२०० पुगेको सेयर बजार आज २२५६.५७ विन्दुमा बन्द भएको छ। त्यस्तै २२ अर्ब कारोबार भएको बजारमा कारोबार रकम खुम्चिएर १–२ अर्ब पुगेको अवस्था छ। आज बजार १७.९५ अंकले बढ्दा कारोबार रकम १ अर्ब ३२ करोड रुपैयाँ भएको छ।
बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्तामा उत्साह घट्नुका साथै मनोबल गिरेको अवस्था छ। अहिले बजारमा अधिकांश लगानीकर्ताको पुँजी फसेको अवस्था छ। आफूसँग पुँजी भएका लगानीकर्तामा भने अब बजारमा के गर्ने भन्ने अन्यौलता भएको देखिन्छ।
लगानीकर्ताले अहिले कस्तो लगानी रणनीति अपनाउनुपर्छ ? अहिले बजारमा के गर्ने समय हो ? अहिले लगानी गर्दा कस्ता कम्पनीमा लगानी गर्नुपर्छ ? लगायतका प्रश्न नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा बजारका भेट्रान लगानीकर्ता छोटेलाल रौनियारसँग राखेका छौँ।
नेप्से परिसूचक झन्डै १००० इन्डेक्स अर्थात् ३३ प्रतिशतले घट्दा कतिपय कम्पनीको मूल्य झन्डै ५० प्रतिशतले घटिसकेकाले अहिले लगानी गर्ने पर्फेक्ट टाइम भएको रौनियार बताउँछन्। ‘तरलता चापले गर्दा अहिले समग्र बजारलाई असर गरेको अवस्था छ। बैंक तथा वित्तीय संस्था लोन दिन सक्ने अवस्थामा छैनन्’, रौनियार भन्छन्, ‘सेयर बेच्दा पनि ब्रोकरहरुले अहिले समयमा पैसा दिने अवस्था छैन। त्यस्तै सेयर किन्दा लगानीकर्ताले पनि समयमा दिने पैसा दिने अवस्था छैन।’
निरन्तर बढ्दो क्रममा रहेको बजार सेबोनले ५१ वटा कम्पनीको लिस्ट निकालेपछि ओरालो यात्रा सुरु भएको रौनियारको भनाइ छ। ‘नेप्से परिसूचक झन्डै ३२०० हुँदा २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो। उक्त बेला बजारमा लगानीकर्ता पनि उत्साहित थिए। तर, नियामकहरु नियमनभन्दा नियन्त्रणमुखी हुँदा बजारमा नकारात्मक प्रभाव पर्न गयो’, उनी भन्छन्, ‘मौद्रिक नीतिमा सीसीडी रेसियोबाट सीडी रेसियो कायम, ४–१२ को क्यापका साथै पुँजी बजारमा राजनीतीकरण बढ्दा लगानीकर्ताको मनोविज्ञानमा असर पर्न गयो।’
रौनियारका अनुसार सुरुआती दिनहरुमा चुनाव, एमसीसी, बीमाको पुँजी वृद्धिलगायतको कुराहरुमा लगानीकर्तामा अन्यौलता थियो। ‘तर, बजारमा समयसँगै गुड न्युज आउँदा पनि नियामकहरु नियमनको सट्टा नियन्त्रण गर्दा लगानीकर्ताको खस्किएको मनोबल उठ्न नसकेको देखिन्छ’, उनले भने, ‘मेरो विचारमा बजार यति घट्न आवश्यक थिएन।’
अहिले कम्पनीको मूल्य बजार ११००–१२०० मा हुँदा आएको रौनियारले बताए। ‘यसका साथै अहिले बजार ११०० इन्डेक्सको बेलाको जस्तै छ’, उनले भने, ‘सेयर किन्न चाहनेहरुसँग पैसा छैन। सेयर भएकाहरु बेच्न मान्दैनन्। पैसा हुनेहरुले अहिले बजारमा लगानी गर्ने पर्फेक्ट टाइम हो। यस्तो अवसर सधैँ आउँदैन। त्यसैले अहिले लगानीकर्ताले लाभांश, ईपीएस, पीई रेसियो, कम्पनीको म्यानेजमेन्टलगायतका विषयहरू अध्ययन गरेर वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्नुपर्छ।’
चुनावी खर्च, विकास खर्च, विदेशी ग्रान्टलगायतले गर्दा एक–डेढ महिनामै तरलता सहज हुने सम्भावना उच्च रहेको रौनियारले बताए। ‘अधिकांश कम्पनीको पोहोरभन्दा बढी नाफा हुने देखिन्छ’, उनले भने, ‘कम्पनीहरुको सेयर मूल्यमात्र घटेको हो, नाफा होइन। त्यसैले यो बजारमा लगानी गर्ने समय हो।’
बजारमा नयाँ लगानीकर्ताको संख्या धेरै भएकाले अधिकांश लगानीकर्ता बजार बढ्दा हौसिएर किन्ने र बजार घट्दा आत्तिएर सेयर बेच्ने गरेका रौनियारको ठम्याइ छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19