– अर्जुन तिमिल्सिना
काठमाण्डौ। पछिल्लो १६ महिनादेखि सेयर बजार निरन्तर घटिरहेको छ।
बजारमा सबै कमाउन नै लगानी लगाएका हुन्छन्। तर, उच्च उतारचढाव भइरहने सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। सेयर बजारमा ठूलो रकम गुमाएपछि पारिवारिक कलह र सामाजिक विचलन आएका समाचारहरु पनि विगतमा सुनेकै हो। तर, पछिल्लो समय सेयर बजार घटेको घट्यै गरेका कारण पारिवारिक कलह तथा मनमुटावका घटना फेरि धेरै बढ्न थालेका छन्।
एक ब्रोकर हाउसका कर्मचारी घट्दो बजारमा यस्ता घटना अहिले थुप्रै सुनिन थालेको बताउँछन्। ‘पेसाले टेलर मास्टर एक व्यक्ति यहाँबाट कारोबार गर्छन्’, ती कर्मचारीले भने, ‘बजार घटेपछि ती लगानीकर्ताको घरपरिवारमा यस्तै समस्या देखिएको छ।’
ती कर्मचारीका अनुसार ती लगानीकर्ताले घरमै टेलर खोलेका छन्। ‘श्रीमान–श्रीमती दुवै टेलरमा काम गर्छन्’, ती कर्मचारीले भने, ‘ती टेलस मास्टरले बजार बुल भएको बेला २९०० को विन्दुमा जग्गा बेचेर ५० लाख रुपैयाँजति लगानी गरेका थिए। अहिले घटेर २० लाख रुपैयाँमा झरेको छ।’
फोर्टफोलियो ह्वात्तै घटेपछि टेलर मास्टर दम्पतीबीच घरमा दैनिकजसो झगडा हुने गरेको ती कर्मचारीले सुनाए। ‘पैसाको विषयलाई लिएर दिनहुँ झगडा हुने गरेको सुनिन्छ’, ती कर्मचारीले भने, ‘उनीहरु अहिले कहिलेकाहीँमात्रै ब्रोकर हाउस आउँछन् तर आउँदा पनि उनीहरुको मुहार कहिल्यै हँसिलो हुँदैन।’
ती टेलर मास्टरको घटना त उदाहरणमात्रै हो। यस्ता थुप्रै घटना भइरहेको अर्का एक ब्रोकर सञ्चालकले जानकारी दिए। ‘कोभिडको बेला अन्य क्षेत्रमा कमाइ नहुने भएपछि धेरै लगानीकर्ता सेयर बजार पसे’, ती सञ्चालकले भने, ‘कोभिडको बेला बजार बढ्दा केहीले कमाए तर बजार रणनीति नबुझेका लगानीकर्ताहरु अहिले पछुताइरहेका छन्।’
बजारबारे नबुझी र अध्ययन नगरी प्रवेश गरेका धेरैजसो नयाँ लगानीकर्ता अहिले तनावपूर्ण अवस्थामा रहेको ती सञ्चालकको भनाइ छ। ‘सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ भन्ने कुरा बुझ्नुपर्छ, आफ्नो लगानी गर्ने क्षमता र जोखिम वहन गर्ने क्षमता पनि हुनुपर्छ’, उनले भने, ‘यिनै कुरा नहुँदा अरुले भनेको र सुनेको भरमा बजार छिर्ने र लगानी घट्दा पारिवारिक कलह र झैझगडाका घटना हुने गरेका छन्।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि पछिल्लो समय यस्ता घटनाहरु बढिरहेको बताउँछन्। ‘यो सबै सेयर बजारबारे पूर्ण जानकारी नराखी बजार हामफाल्नुको नतिजा हो’, उनले भने।
यस्ता घटनाहरु न्यूनीकरण गर्न एक त लगानीकर्ता आफैँले केही रणनीतिहरु अपनाउनुपर्ने र अर्कोतर्फ बजार नियामकहरुले सेयर सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने घिमिरेको भनाइ छ। ‘भोलि यिनै कारणले ठूलो दुर्घटना नहोस् भन्ने तर्फ अझ बढी नियाम निकायहरु सचेत हुन जरुरी छ’, उनले भने।
बजारको पछिल्लो अवस्थाबाट पीडित बन्न पुगेका लगानीकर्ताहरु सुझाव दिँदै घिमिरेले भने, ‘आफ्नो लगानी घटेको अवस्थामा घाटा खाएर बजारबाट बाहिरिनु भनेको अर्को आत्मघाती कदम हुनेछ।’
त्यसैले अहिलेको अवस्थामा कि त आफूले राम्रोसँग बजारको अध्ययन गरेर रणनीति बनाउने कि विज्ञको सल्लाह लिएर फोर्टफोलियो व्यवस्थापन गर्नुपर्ने घिमिरेले सुझाव दिए। ‘यदि आफूसँग अझै पैसा छ भने एभरेजिङ गर्दा पनि हुन्छ’, उनले भने, ‘यदि थप लगानी गर्ने पैसा छैन आफूसँग रहेको सेयर होल्ड गरेर राख्नु नै बुद्धिमानी हुन्छ। यसो गरेमा आउँदो एक–डेढ वर्षमा आफूसँग भएको सेयरले राम्रो प्रतिफल दिन सक्छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago