काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित १८ हजार ५०३ कित्ता हकप्रद सेयर आज मंगलबारदेखि लिलामीमा राखेको छ ।

संस्थाले गत असार १२ गतेदेखि साउन १५ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि १:१ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित २ लाख ८८ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो । त्यसमा सर्वसाधारणतर्फ बिक्री हुन बाँकी रहेको १८ हजार ५०३ कित्ता सेयर संस्थाले लिलाम बढाबढमार्फत बेच्न लागेको हो ।

लिलाम बढाबढका लागि प्रतिकित्ता सेयर न्यूनतम रु. १०० तोकिएको छ । लगानीकर्ताले न्यूनतम रु. १०० वा सोभन्दा माथि बोलकबल गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० अंकले भाग जाने संख्यामा अधिकतम १८ हजार ५०३ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिन अन्तिम मिति भदौ १७ गतेसम्म तोकिएको छ।

लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेड, रुपन्देही बुटवलस्थित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन फाराम लिन र बुझाउन सक्नेछन् ।

यो कम्पनीले हालै आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर समेत वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६ करोड ३३ लाख पुग्नेछ ।