काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको सर्वसाधारण समूहतर्फको अवितरित १८ हजार ५०३ कित्ता हकप्रद सेयर उठाउने आज मंगलबार अन्तिम मौका रहेको छ ।

संस्थागत गत भदौ १० गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । संस्थाले गत असार १२ गतेदेखि साउन १५ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि १:१ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित २ लाख ८८ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो । त्यसमा सर्वसाधारणतर्फ बिक्री हुन बाँकी रहेको १८ हजार ५०३ कित्ता सेयर संस्थाले लिलाम बढाबढमार्फत बेच्न लागेको हो ।

लिलाम बढाबढका लागि प्रतिकित्ता सेयर न्यूनतम रु. १०० तोकिएको छ । लगानीकर्ताले न्यूनतम रु. १०० वा सोभन्दा माथि बोलकबल गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० अंकले भाग जाने संख्यामा अधिकतम १८ हजार ५०३ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेड, रुपन्देही बुटवलस्थित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन फाराम लिन र बुझाउन सक्नेछन् ।

यो कम्पनीले हालै आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर समेत वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६ करोड ३३ लाख पुग्नेछ ।