काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। 

आज माघ ३ गते उक्त भवनमा पूजापाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै बैंकिङ कारोबार सञ्चालन गरिएको हो। करिब ३७६७ वर्गफिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो। 

हाल धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा सञ्चालनमा रहेको  विद्यापतीचोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्तरण भएको छ। सुविधासम्पन्न यस शाखाबाट ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टरसमेत सुरुआत गरिएको छ। 

यसका साथै यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटोछरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट करिव १३  लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

कोरोनाभाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। 

यसका साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।