काठमाण्डौ । नेपाल आर्थिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानीप्रसाद ढुंगानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ।

आगामी आर्थिक वर्ष २०८०–८१को बजेट ल्याउन लागेको सन्दर्भमा अनुसन्धानमा आधारित विषय वस्तुहरुलाई हृदयंगम गर्दै जनतालाई आशा जगाउने किसिमले बजेट ल्याउनपर्नेमा संघले जोड़ दिएको थियो। 

अर्थमन्त्री महतले नेपाल आर्थिक संघ देशको एकमात्र अर्थशास्त्रीहरुको संगठन भएकोले सहकार्य गर्न तयार रहेको बताए। आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पुँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने उनले बताए। 

संघका वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थमन्त्री महतलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए। 

उक्त अवसरमा उपाध्यक्ष प्राडा गोविन्द नेपालले अर्थ मन्त्रालयसँग सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसन्धान जारी राख्ने बताए। 

संघका महासचिव डा गोपालप्रसाद तिवारी देश विभिन्न जल्दाबल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघसँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उयोगी बजेट आउन सक्छ। ‘त्यसैले अनुसन्धानमा आधारित प्रतिवेदनहरु, जसले देसको समग्र अर्थतन्त्रमाथि उकास्ने सहयोग गर्छ, त्यसमा अर्थ मन्त्रालयले राम्रोसँग अध्ययन गरी बजेटमा समावेश गर्नसके वस्तुपरक हुनेछ’, उनले भने। 

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोषराज पाण्डेले नेपाल आर्थिक संघसँग सरकार पहिलेदेखि नै नीति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागिपरेको जानकारी दिए।