काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर दोस्रो बजारमा भोलि (मंगलबार) बाट कारोबार हुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको सेयर सूचीकरण सम्झौता भएको भोलिपल्टदेखि मात्र दोस्रो बजारमा कारोबार हुने गर्छ। 

आज यो कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। 

जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको जानकारी दिएको छ। भोलि स्पेसल प्रिओपन सेसन (१०ः३० देखि १०ः४५) मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१.७६ देखि ३०५.२८ रुपैयाँमा कारोबार सम्पन्न भएपछि मात्र नियमित समय (११ देखि ३ बजे) जनरल इन्स्यारेन्सको सेयर कारोबार हुनेछ।

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु. ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ। 

कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। 

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।