काठमाण्डौ । देशमा दसैँले ढपक्कै ढाकेको छ। टाढा–टाढाबाट गाउँ घर आउने आगन्तुकको संख्या बढेको छ। खेतमा धानका बाला झुलेका छन् भने किसानलाई धान काट्न र थन्काउनको चटारो छ। काम र पेसाले राजधानी अर्थात् सहरमा बसेकाहरु गाउँघर फर्किने क्रम जारी नै छ। 

धितोपत्र ब्रोकर एसोसियसनका अध्यक्ष सागर ढकाल पनि यसपालिको दसैँ गाउँघरमै मनाउने तयारीमा छन्। गुल्मीको कालिगण्डकी गाउँपालिका जन्मथलो भएका ढकाल यसपालिको दसैँ जन्मथलोमै फर्केर मनाउने सोचमा छन्। 

ढकाललाई दसैँ भन्नेबित्तिकै सहरमा बस्दा पनि गाउँघरकै सम्झना आउँछ। ‘दसैँमा जन्मथलो एकपटक पुग्ने चाहना सबैको हुन्छ’, उनले भने। 

‘बालपनको दसैँमा नयाँ कपडा लगाउने र मिठो खाने भन्ने थियो’, ढकाल भन्छन्, ‘अहिले त्यो फेरिएको छ। तर, पनि दसैँको महत्व भने घटेको छैन।’

बालापनको दसैँ सम्झिँदै ढकाल भन्छन्, ‘सानो हुँदा आफूभन्दा ठूला दाजुहरुसँग मिलेर रातभरि बसेर दसैँमा लठ्ठे पिङ बनाएको मलाई याद छ।’

पिङ खेल्दाको नमीठो याद पनि ढकाललाई छ। ‘नजिकको एकजना दिदी पिङबाट खसेको अझै सम्झिन्छु’, उनी भन्छन्।

दसैँ, तिहार र छठका अवसरमा आफ्ना साथीभाइ, इष्टमित्र तथा लगानीकर्तालाई ढकालले शुभकामना दिए। दसैँलाई भड्किलोभन्दा पनि भाइचराको हिसाबले मनाउन उनले सुझाव दिए। 

विभिन्न कारणले घटेको बजार दसैँपछि भने दसैँको जमराजस्तै हरियो हुने आशा ढकालको छ। ‘अब सबै विषय सकारात्मक पनि हुँदै गएका छन्, आशा गरौँ दसैँपछि बजारले लय समात्नेछ’, उनले भने।