काठमाण्डौ । इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय पर्यावरण सम्मेलनमा विश्वका नेताहरुले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र तिनको समाधानका विषयमा छलफल गर्नेछन्।

गत वर्ष विश्व जलवायुसम्बन्धी विपदले घेरिएको थियो। धेरै ठाउँमा अत्याधिक वर्षा र अप्रत्याशित बाढी आएको थियो भने धेरै ठाउँमा तापक्रमको रेकर्ड तोडिएको थियो।

संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलन हरेक वर्ष हुने गर्छ। यसमा सरकारहरुले विश्वव्यापी रुपमा जलवायु परिवर्तनलाई रोक्नका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्छन् र देशहरुबीच सहमति हुने गर्छ। 

यो सम्मेलनलाई कोप (सीओपी) वा ‘कन्फ्रेन्स अफ दि पार्टिज’ पनि भनिन्छ। यी सम्मेलनमा सन् १९९२ मा मूल जलवायु सम्झौतामा हस्ताक्षर गर्ने देशहरु सहभागी हुन्छन्। 

इजिप्ट सम्मेलन संयुक्त राष्ट्रसंघको २७ औँ वार्षिक बैठक हो। यो नोभेम्बर ६ देखि नोभेम्बर १८ सम्म इजिप्टको शर्म अल–शेखमा हुनेछ।

पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। यसको मुख्य कारण मानव निर्मित उत्सर्जन हो। जुन मुख्यतया तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धनहरु जलाउँदा हुन्छ।

संयुक्त राष्ट्रसंघका जलवायु वैज्ञानिकहरुका अनुसार विश्वभर पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियसले बढेको छ र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्यानल (आईपीसीसी) का अनुसार १.५ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ।

आईपीसीसीको अनुमान अनुसार सन् १८५० को तुलनामा तापक्रम १.७ वा १.८ डिग्री सेल्सियसले बढ्यो भने विश्वको आधा जनसंख्या घातक गर्मी र आर्द्रताको चपेटामा पर्नेछ। यसलाई रोक्न सन् २०१५ मा १९४ देशले पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए। यसको उद्देश्य विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम हुन नदिनु थियो।

यस सम्मेलनमा सहभागी हुन २०० भन्दा बढी देशका सरकारलाई आमन्त्रण गरिएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनक र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता केही ठूला देशका नेता सहभागी नहुन सक्छन्। यद्यपि सम्मेलनमा यी देशका प्रतिनिधि सहभागी हुनेछन्। 

आयोजक इजिप्टले आमन्त्रित देशहरुलाई आफ्नो मतभेदलाई पन्छाएर ‘नेतृत्व देखाउन’ आग्रह गरेको छ।

सम्मेलनमा विश्वभरका नेता, वातावरण क्षेत्रमा काम गर्ने संघसंस्था, सामुदायिक समूह, थिंक ट्यांक, व्यापार कम्पनी, धार्मिक समूहको पनि सहभागिता रहनेछ। बैठकअघि देशहरुलाई उनीहरुको महत्वाकांक्षी राष्ट्रिय योजनाहरु प्रस्तुत गर्न भनिएको थियो। अहिलेसम्म २५ देशले मात्रै योजनाहरु प्रस्तुत गरेका छन्।

सम्मेलनमा मुख्य यी बुँदामा हुनेछ छलफल

  • उत्सर्जन घटाउने।
  • जलवायु परिवर्तनसँग जुध्न तयार हुन र यस दिशामा कदम चाल्न देशहरुलाई मद्दत गर्ने।
  • यी गतिविधिहरुका लागि विकासशील देशहरुका लागि कोष सुरक्षित गर्ने।

अघिल्लो सम्मेलनमा छुटेका यी केही बुँदामा पनि छलफल हुनेछ

  • हानी र नोक्सान आर्थिक सहयोग। जलवायु परिवर्तनको प्रभावबाट पुनः प्राप्ति गर्न देशहरुलाई पैसा उपलब्ध गराउने।
  • विश्वव्यापी कार्बन बजारको स्थापना। विश्वव्यापी स्तरमा उत्पादन र सेवाहरुको मूल्यमा उत्सर्जनको प्रभावलाई पनि जोड्ने।
  • कोइला प्रयोग कम गर्ने यसअघिको प्रतिबद्धताहरुलाई थप सुदृढीकरण गर्ने। –बीबीसीबाट भावानुवादित
  •