Photo Courtsey :Upper Tamakoshi Hydropower Limited
- अर्जुन तिमिल्सिना
नेपालीमा एउटा उखान छ– ‘उगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सिन्छ।’
यथार्थमा सेयर बजारमा जलविद्युत् कम्पनीका सेयर लगानीकर्ता यसरी तर्सेका छन् कि जलविद्युत्को सेयर किन्नु भनेको सधैँ घाटामात्रै खानु हो। जलविद्युत् कम्पनीका सेयरमा योसम्मको अवस्था आयो कि प्राथमिक सेयर नै नबिकेर कम्पनीले अन्डरराइटर नै नपाउने अवस्थासमेत बजारमा आयो।
खासमा किन यस्तो भयो त ?
देशको प्रमुख आम्दानीको स्रोत र जलविद्युत्लाई ‘सेतो सुन’ भनेर नामकरण गरे पनि यथार्थमा कम्पनीको सेयर भ्यालु त्योअनुरुप हुन सकेको छैन। एउटा जलविद्युत् कम्पनीको उद्घाटन गर्दै ऊर्जामन्त्री वर्षमान पुनले भनेका थिए, ‘जलविद्युत् कम्पनीको सेयर हुनेलाई भविष्यमा छोरी खोजी–खोजी दिनेछन्।’ तर लगानीकर्ता टाट पल्टेर भएको जोगाउन हम्मेहम्मे भएकोमा सरकार कति जानकार छ ? प्रधानमन्त्रीले नै घोषणा गरेको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ के हुँदैछ ?
आज साउदी अरबिया किन धनी छ ? त्यहाँको सुन खानीको सदुपयोग गरेर नै हो। हाम्रो ‘सेतो सुन’ भनिएको जलविद्युत् आयोजनाको हविगत किन यस्तो भयो ? राष्ट्रिय गौरवका आयोजना नै अलपत्र किन छन् ? जबसम्म जलविद्युत् कम्पनीको विकास हुन्न तबसम्म देशको जीडीपीमा सुधार आउँदैन। जबसम्म जीडीपीमा सुधार हुँदैन तबसम्म देशको आर्थिक अवस्थामा सुधार आउँदैन।
राष्ट्रिय गौरवका आयोजनामा अब सरकारको विशेष ध्यान जान जरुरी छ। राष्ट्रिय गौरवका आयोजनामा धेरै गन्थन र मन्थनपछि स्वोदेशी पुँजीबाटै निर्मित ‘देशको शान भनौँ कि लगानीकर्ताको मान भनौँ’ एउटामात्रै आयोजना बनेको छ, त्यो हो अप्पर तामाकोशी।
देशमा अन्य आयोजना नभएका होइनन्। चिलिमे जलविद्युत्, बुटवल पावर अनि निजी क्षेत्रबाटै निर्मित सानीमा हाइड्रो प्रतिनिधि उदाहरण हुन्। यीलगायत देशमा सानाठूला गरेर धेरै हाइड्रो कम्पनी छन्। जसले कुनै न कुनै रुपले देशको धुकुटीमा योगदान गरेका छन्। बूढीगण्डकी र पश्चिम सेती पीपीए चरणमा नै छन्।
अप्पर तामाकोशी यो कारणले पनि महत्वपूर्ण छ कि यो आयोजना सफल भयो भने हामीमा एउटा थप ऊर्जा मिल्न सक्छ। स्वदेशी पुँजीबाट पनि देशमा ठूला आयोजना सम्पन्न हुन सक्छ भन्ने सन्देश यो आयोजनाले दिन सक्छ र भविष्यमा पश्चिम सेती र बूढीगण्डकी पनि सहजै निर्माण सम्पन्न हुन सक्छन्।
अब जाऔँ अप्पर तामाकोशीतर्फ नै।
लगानीकर्ताको रोजाइमा अप्पर तामाकोशी नै किन ?
खासगरी यो पंक्तिकारलाई कुनै कम्पनी विशेषमा लेख नै लेख्ने बाध्यता त होइन। तर सामाजिक सञ्जालमा एउटा राष्ट्रिय गौरवको आयोजनाप्रति भएका अनर्गल टीकाटिप्पणीहरुको यथार्थ चित्रण गर्ने दायित्व पूरामात्रै गर्न खोजेको हुँ। देशमा धेरै आयोजनामध्ये ‘रन अफ दी रिभर ड्याम’ मा चलेको यो कम्पनी दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा सञ्चालित छ। कुल ४५६ मेगावाट उत्पादन क्षमता रहेको यो पारियोजनामा ६ वटा टर्बाइन अमेरिकन प्रविधि पेलेटन ह्विलमार्फत बिद्युत् उत्पादन हुन्छ।
नेपाल विद्युत् प्राधिकरणको उच्च स्रोतले दिएको जानकारीअनुसार करिब ९९ प्रतिशत काम सम्पन्न भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिँदैछ। थप प्रस्ट पार्दै प्राधिकरण स्रोतले भन्यो, ‘यो आर्थिक वर्षभित्रै जोड्नसके प्रतिमेगावाट ५० लाख सरकारी अनुदान पनि मिल्छ र बजारमा आएजस्तो चर्को ब्याजदरभन्दा पनि प्रोजेक्टले सफ्ट लोन लिएको साँचो हो।’
यो परियोजनामा ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुको लागानी देखिन्छ। जसमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत दरले लगानी छ। बाँकी ४९ प्रतिशतमा सर्वसाधारणको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोष र प्रोजेक्टमा योग्दान गर्ने कर्मचारीलाई छुट्टाएर लगानी व्यवस्थापन गरिएको छ।
यो पारियोजना १० अर्ब ५९ करोड इक्विटी क्यापिटल रहेको छ। जसको वार्षिक आम्दानी ९ अर्ब रुपैयाँ विद्युत् बेचेर हुने देखिन्छ भने रोल्वालिङ खोलामा बन्ने प्रोजेक्टबाट थप २ अर्ब आम्दानी हुने हुँदा वार्षिक ११ अर्ब आम्दानी हुने देखिन्छ।
कम्पनीको ब्यालेन्ससिट केलाउँदा प्रतिसेयर सम्पत्तिको मूल्य ७४१ रुपैयाँ छ। जसका आधारमा अहिलेको बजारमूल्य निकै सस्तो देखिन्छ।
रिटर्न अन इक्विटीका आधारमा पनि कम्पनी नराम्रो देखिँदैन भने प्रतिमेगावाट १६ करोड रुपैयाँ खासै महँगो होइन।
भूकम्प, नाकबन्दी र कोभिड–१९ को असरले प्रोजेक्ट समयमा सम्पन्न हुन नसकेर केही लागत महँगो भने पर्न गएकै हो। तर अन्य निजी जलविद्युत्भन्दा अझै सस्तो नै हुन आउँछ।
के छ लभांश र बजारमूल्यको सम्भावना ?
सेयर बजारमा सेयरको मूल्य धेरै तत्वले प्रभाव पारेको हुन्छ। सेयरको माग र आपूर्ति, कम्पनीले भविस्यमा दिन सक्ने लाभांशको दर, कम्पनीको नगद प्रवाह र लगानीकर्ताले गरेको कम्पनीप्रति विश्वासका साथै सेयर बजारको ट्रेन्डले मूल्यमा प्रभाव पर्छ।
अहिले पछिल्लो भारतीय सेयर बजारलाई केलाउने हो भने लगानीकर्ता बलिया मजबुत सरकारी कम्पनीप्रति आकर्षित भएका देखिन्छन्। नेपाली लगानीकर्ताको मनोविज्ञानलाई नजरअन्दाज गर्दा पनि त्यही सिनारियो र मनोविज्ञान देखिन्छ।
उदाहरणका लागि नागरिक लगानी कोष, साल्ट ट्रेडिङ, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य धेरैले कल्पना गरेभन्दा बढी बढेकोले अब आगामी दिनमा सरकारी स्वामित्वकै जलविद्युत् विकास कम्पनी र अप्पर तामाकोशीजस्ता मजबुत कम्पनीमा धेरै लगानिकर्ता आकर्षित भए भने पनि खासै अनौठो हुने छैन। यी कम्पनीका सेयरमूल्यमा उछाल आउने अर्को आधार के छ भने नेपाली सेयर बजारमा भर्खर–भर्खर संस्थागत लगानीकर्ताजस्तै सीआईटी प्रवेश गर्दैछ। उनीहरुले सेयर खरिद गरे भने यस्तै सरकारी स्वमित्वकै मजबुत कम्पनी खरिद गर्न सक्ने सम्भावना देखिन्छ।
अहिले बैंकको ब्याज सस्तो भएको बेला र बैंकले पनि यस्ता कम्पनीलाई विश्वास गरी सेयर धितो कर्जा सजिलै दिने हुँदा आगामी दिनमा सेयर कर्नरिङ हुने प्रवल सम्भावना छ। सेयर बजार भनेको सम्भावना नै सम्भावनाको ठाउँ हो। अप्पर तामाकोशीको आम्दानी पनि राम्रै रहेकोले भविष्यमा बम्पर लाभांशको सम्भावना पनि त्यत्तिकै छ।
‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड’ भनेजस्तै अहिले केही राम्रा जलविद्युत् कम्पनीका सेयर खिया लागेका टिनका पाता जसरी फाल्दा भोलि त्यही पाताले आफ्नै खुट्टा काट्न पनि सक्छ। लगानीकर्ताले समयमै ख्याल गर्न जरुरी छ। बजारमा हरेक लगानीकर्ताको आ–आफ्नो मार्केट रणनीति हुन्छ। पोर्टफोलियो व्यवस्थापन हुन्छ। त्यसमा कुन कम्पनीमा कति लगानी गर्ने भन्ने निजी विचार हो तर विगतको बजार ट्रेन्डलाई विश्लेषण गर्दा मार्केट बड्दै जाँदा लगानीकर्ता सस्ता र मजबुत कम्पनीलाई प्राथमिकता दिएका हुन्छन्।
सेयर बजार सधैँ जोखिमको क्षेत्र रहेकाले लगानी गर्नुपूर्व हरेक लगानीकर्ताले भविष्यमा कम्पनीबाट हुने फाइदा र जोखिम पहिले नै ख्याल गर्नुपर्छ।
(लेखमा गरिएका तर्क र उल्लेख भएका तथ्यांक लेखकका निजी हुन्।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago