– अर्जुन तिमिल्सिना

काठमाण्डौ । केही दिनदेखि लगातार घटेको सेयर बजार आज बिहीबार उकालो लागेको छ। 

बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा नै बढी देखिएको छ। नेपाल राष्ट्र बैंकको सर्कुलरपछि बजारमा आएको पहिलो करेक्सनमा १० प्रतिशतभन्दा बढीले घटेको जलविद्युत कम्पनीहरुमा विस्तारै पुनः लगानीकर्ताहरु आकर्षित हुन थालेका छन्। 

आज जलविद्युत समूह सर्वाधिक ४.८३ प्रतिशतले उकालो लागेको छ। साढे १३ अर्ब रुपैयाँको हाराहारीमा कुल कारोबार भएकोमा जलविद्युत कम्पनीहरुको मात्रै ४ अर्ब २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन्। 

जलविद्युत कम्पनीका सेयरमूल्यमात्रै नबढेर कारोबार र भोलुम पनि बढ्दै गएपछि बजार जानकार र विश्लेषकरुसम्म सोचमग्न भएका छन्। ब्रोकर हाउसदेखि क्लब हाउससम्म अहिले जलविद्युत कम्पनीहरुका सेयरभाउ अचाक्ली बढेकोमा लगानीकर्ताहरुबीच टिकाटिप्पणी भइरहेको पाइन्छ। 

यसरी बजारमा जलविद्युत कम्पनीका सेयरमा आकर्षण बढ्नुको रहस्य के हो त ? यसमा  बजार जानकार र विज्ञहरुको आ–आफ्नै तर्क रहेको पाइन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार यसरी जलविद्युत कम्पनीहरुमा लगानीकर्ता आकर्षित हुनुको मुख्य कारण हकप्रद तथा बोनस नै रहेको बताउँछन्। ‘अर्को कारण भनेको अहिले बैंकको ब्याजदर धेरै घटेको छ, यसले जलविद्युत कम्पनीहरुको आम्दानी बढेको छ’, उनले भने, ‘त्यसैले जलविद्युत कम्पनीहरुले बढी लाभांश दिन सक्ने भएकोले अहिले लगानीकर्ताहरु आकर्षित भएका हुन्।’

रौनियार पछिल्लो समय जलविद्युत कम्पनीहरुको विद्युत उत्पादन बढ्नुलगायतका कारण आकर्षण बढेको हुन सक्ने बताउँछन्। 

बजार जानकार मेघनाथ निरौला पनि हकप्रद तथा बोनसकै आशामा जलविद्युत कम्पनीहरुका सेयरमा लगानीकर्ताहरु झुम्मिएका बताउँछन्। ‘त्यसो भनेर जस्तो पायो त्यस्तै कम्पनीका सेयर आँखा चिम्लेर उठाउन पनि हुन्न’, उनले भने। 

ब्रोकर एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले जलविद्युतमात्रै नभएर समग्र बजार नै धेरै तल नआउने तर्क गरे। अमेरिकाको सेयर बजारको उदाहरण दिँदै उनले भने, ‘अहिले नेपालको बजारको टे«न्ड नै परिवर्तन भएको छ। ठूलाभन्दा साना लगानीकर्ता बजार बढी धानेको देखिन्छ। धेरै नयाँ लगानीकर्ता आएकोले पनि बजार थप मजबुत बनेको छ।’ 

रानाभाटको विचारमा बजारमा मुख्य कुरा माहौल र टे«न्ड नै हो। धेरै लगानीकर्ता कारोबारी हुँदा कम आपूर्ति भएका सेयरको भाउ माथि जान सहयोग पुगेको उनको तर्क छ। 

सक्रिय लगानीकर्ता टेकेन्द्र क्षेत्री भने अहिले जलविद्युत कम्पनीहरुको सेयरभाउ बढाइलाई स्वाभाविक मान्न तयार छैनन्। ‘सिटिजन्स बैंकको सेयरभाउ ४०० हुनु र एनएचपीसी सेयरभाउ ५०० हुनु, यो कुनै पनि हालतमा मूल्य जस्टिफाई हुन सक्दैन’, उनले भने। 

पम्प एन्ड डम्प भएका कम्पनीमा विद्युत नियमन आयोगलगायत नियामक निकाय चनाखो हुनुपर्ने क्षेत्रीको भनाइ छ। 

नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकर सञ्चालकले भने, ‘राधी कम्पनीका संस्थापकले सेयर बेचेर अर्बौं लगेको भन्ने सुन्नमा आएको छ, अब अरुले पनि त्यही बाटो समात्न सक्छन्।’

सिनर्जी पावर, ङादी ग्रुप पावरको कामै नगरी हकप्रद आएको उल्लेख गर्दै ती ब्रोकर सञ्चालकले भने, ‘यसले कुनै पनि समयमा बजारमा ठूलो जोखिम निम्ताउन सक्छ।’