काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन्। 

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेसियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेसियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गरेका छन्’, प्रधानमन्त्रीलाई उदृत गर्दै नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले भने। 

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह गरे। देउवाले इन्डोेनेसियन जनतालाई शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागिसमेत आग्रह गरे। 

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेसिया सरकारसँग आफूले पुर्याइदिने बताए। 

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए। 

आगामी अक्टोबर महिनामा इन्डोनेसियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवर्द्धन क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेसियाबीच दुईपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘दुई देशबीच व्यापार तथा लगानीका प्रचूर सम्भावनाहरु रहेका छन्। यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि काम गर्न इन्डोनेसिया सरकार सकारात्मक छ। यही अक्टोबरमा हुन गइरहेको ट्रेड एक्स्पोले पनि यसमा थप सहयोग पुग्नेछ’, राजदूत सुबोलोले भने। 

राजदूत सुबोलोले नेपाल भ्रमणका लागि इन्डोनेसियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेसिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराइभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराए। 

भेटमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो।