– भक्तराज रसाइली
काठमाण्डौ । सीमित समय खटेर सीमित आम्दानी हुने जागिरे जीवनलाई पन्छ्याउँदै असीमित समय खट्दै असीमित आम्दानीको क्षेत्रसमेत बन्दै गएको सेयरबजारमा होमिएका एक युवा रामेश्वर लामिछानेको यात्रा तथा अनुभव यो साता पस्कन गइरहेका छौं ।
पूँजीबजारमा पूर्णकालीन लगानीकर्ताका रुपमा सक्रिय लामिछाने काठमाण्डौको मीनभवननिवासी हुन् । उनी सेयरबजारमा २० वर्षदेखि सक्रिय छन् ।
बीकम र समाजशास्त्रमा स्नातकत्तोर लामिछाने अध्ययनरत रहँदै २–४ ठाउँ जागिरसमेत पनि गरे । तर जागिरभन्दा सेयरबजारमै कमाउन सकिन्छ कि भन्ने उनमा सोच आयो । फलतः उनले सेयरबजारमा पाइला अगाडि बढाए।
२०५५/५६ सालदेखि लामिछाने आईपीओ भर्ने र ओपन क्राई सिस्टमबाट सेयर खरिदबिक्रीमा संलग्न हुन थाले । त्यतिबेला लामिछानेले २०÷३० हजारबाटै सेयरमा लगानी गर्न हौसिएका थिए ।
त्यसो त लामिछानेले विद्यार्थी संगठनमा समेत सक्रियता देखाएका अनि व्यापारमा पनि होमिए । २०६५ सालपछि भने लामिछाने निकै जमेर सेयरबजारमा लागे । उनमा अबको यात्रा सेयरबजारलाई नै बनाउने योजना थियो ।
स्वविवेकले एक ब्रोकर कार्यालयमा कार्यरत बालसखा अमृत बराललाई सम्पर्क गरी लामिछानले सेयरबजारमै अझ सक्रिय हुने निर्णय गरे । लामिछानेले पहिलो आईपीओ भने एभरेष्ट बैंकको ५० कित्ताबाट सुरु गरे । ‘त्यतिबेला आईपीओ त्यति पर्दैन थियो । ठूलो रकम हाल्नेलाई मात्र हाता पर्ने गथ्र्यो’, उनले विगत कोट्याए ।
यद्यपि २०६५ सालपछि आएका सिटिजन्स बैंक, सानिमा बैंकलगायतका आईपीओ भने पार्न लामिछाने सफल बने । दोस्रो बजारमा लामिछानेले सुरुमा सिद्धार्थ बैंकको ३ सय कित्ता १२ सय रुपैयाँको आसपासमा खरिद गरेको सम्झे ।
दोस्रो बजारमा चाहिँ लामिछाने ६५ सालताका कस्सिरै छिर्दा सुरुआतमै केही लाख नराम्रोसँग घाटा खाए । नेप्से इन्डेक्स ११ सय ७५ बाट २ सय ९२ झर्दा हालकै अवस्थाझै कारोबार रकम पनि दैनिक २५ लाखमात्र हुने गरेको उनी सम्झन्छन् । ‘कारोबार रकम १ करोड पुग्दा त्यतिबेला ब्रोकर हाउसमा खुशियाली छाउँथ्यो’, उनले विगत सम्झे ।
नेप्से इन्डेक्स २ सय ९२ आइपुग्दा लामिछानेले ऋण रकम र जग्गा बेचेरै पैसा खन्याए । त्यतिबेला उनले सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकका सेयर क्रमशः १७१, ३८४ र १४१ रुपैयाँ प्रतिकित्ता उठाए। त्यतिबेला उनले सेयर खरिदारी बढाउँदा अन्य साथीहरु भने डुब्ने भन्दै गिज्याएको जिकिर गर्छन् ।
वास्तवमा सेयरबजारमा जोखिम लिन सके र धैर्य भए सेयरमूल्य बढेर अन्ततोगत्वा नाफा नै हुने उनको अनुभवबाट हामीले सिक्न सक्दछौं । यतिमात्र हैन लामिछाने व्यवस्थापनकै विद्यार्थी भएका नाताले सूचीकृत कम्पनीका प्रकाशित वित्तीय विवरण हेरेरै लगानी गरेको र आज पनि त्यसले निरन्तरता पाइरहेको उनको भनाइ छ ।
त्यतिबेला धेरै जोखिम लिई किनेका सेयरले अहिलेसम्मकै सबैभन्दा बढी मुनाफा कुम्ल्याउन सफल बनेको लामिछानेको अनुभव छ । वियरिस ट्रेन्डमा रहेको बजारमा जोखिम लिएर बलिया कम्पनीका सस्ता सेयर हालपनि उठाउन सके उनीझैं सफल बन्न सकिन्थ्यो ।
लामिछानेले मुनाफा रकमलाई अन्य क्षेत्रमा समेत बाँडे । विशेषगरी हाइड्रोपावरका प्रमोटर सेयरमा लगानी ओइराउँदा त्यहीँबाट पनि आम्दानी भइरहेको उनी सुनाउँछन् ।
सेयरबजारमा पस्दा बलियो ब्याकअप भएको मान्छेमात्र लाग्न लामिछानेको सुझाव छ । सेयर लगानीलाई जागिर हैन बचत रकम पूँजी लगानी हो भन्ने धारणा लिई आउनुपर्ने उनी सुझाउँछन् ।
सेयरमा लगानी गर्दा धेरै चनाखो हुनुपर्ने जिकिर गर्दै लामिछानेले संस्थागत सुशासन र कम्पनी व्यवस्थापनका बारेमा गहिरो अध्ययन गर्नुपर्ने सल्लाह दिन्छन् । ‘तरकारी किन्न हामी ५ रुपैयाँमा बार्गेनिङ गर्छौं तर सेयर किन्नुअघि कुनै अध्ययन र विचार नगरी हचुवाकाभरमा लगानी गर्दा घाटा त खाइन्छ नि’, लामिछाने बताउँछन् ।
चिलिमे जलविद्युत्को सेयर प्रतिकित्ता ७ सय रुपैयाँआसपासमा किनेर २५ सय रुपैयाँआसपासमा बेचेर मनग्यै कमाउन सफल लामिछाने नेप्से इन्डेक्स १८ सय हुँदा बजारबाट मुनाफा रकम बुक गरिसकेको सुनाउँछन् । ‘जुन सेक्टर बढी ध्वस्त हुन्छ, त्यही सेक्टर नै बढी चल्छ’, लामिछाने भन्छन्, ‘नेपाली सेयरबजारको इतिहासले यो कुरा पुष्टि गर्छ ।’
‘विगतमा इन्स्योरेन्स सेक्टरको अवस्था उस्तै भएको थियो’, उनी थप्छन् ।
‘बजारमा टिक्न सक्नुपर्छ, टिक्ने नै हो’, उनले जोशिलो पारामा भने, ‘बजार बोनस र हकप्रदको नै हो । यसैले बजारमा उत्तारचढाव ल्याइदिँदा कमाउने अवसर समेत हुन्छ ।’
लामिछानेले दोस्रोबजारमा आरबीसीएलको प्रतिकित्ता ३ हजार ३ सय रुपैयाँमा किनी ११४ प्रतिशत बोनस खाएर पनि १३ हजार प्रतिकित्ता बेच्दा निकै राम्रो नाफा बुक गरे । सुरुमा किनेको सिद्धार्थ बैंकको सेयर १२ सय आसपासमा किनेर ५ सयमा बेच्दा घाटा खाए । ‘सुरुआतका यस्तै घाटा खाएबाटै लर्निङ बाई डुइङ गरेँ’, लामिछाने भन्छन् ।
जुनसुकै क्षेत्रमा पनि होमिँदा आरोह अवरोहबारे स्पष्ट हुनुपर्ने धारणा राखेका लामिछाने सेयरबजारका बारेमा पनि पढेर बुझेर लगानी गर्ने ठाउँ भएको बताउँछन् । सेयरबजारको इतिहास, कम्पनीको कार्यसम्पादन, विगतका लाभांश वितरणको इतिहास हेर्दै विस्तृतमा बुझेर मात्र लगानी गर्न उनले सल्लाह दिए ।
अप्राकृतिक बढाइ (बबल सेयर) भएका सेयरहरु खरिद गर्नै नहुने बरु कम्पनीका प्रतिफल, पीईओ रेसियो, नाफा प्रक्षेपणलगायतका पाटाहरुलाई समेत केलाएर सेयर किन्न सके नाफा कमाउन सकिने लामिछानेको ठम्याइ छ । ‘मैले पनि सेयर बजारमा पैसा खन्याएर घाटा खाएपछि ट्रेन्ड बुझेँ’, लामिछाने भन्छन् ।
सेयरबजार उर्बर सेक्टर भएको लामिछानेको बुझाइ छ । सेयरबजारमा कमाउन सक्नेलाई पैसा अथाह भएको जिकिर गर्दै लामिछाने लगानी गर्नुअघि धेरै गम्भीर हुनुपर्ने धारणा राख्छन् ।
सुरुमा सिक्नका लागि १०/२० कित्ता सेयरको खरिदबिक्रीबाट थालनी गर्नुपर्ने लामिछाने बताउँछन् । ‘किनेपछि बेच्न पनि जान्नुपर्छ’, उनले भने, ‘टार्गेट चाहिँ नभई नहुने कुरा हो भने प्रवेश र निवेशबारे पनि ज्ञात हुन जरुरी ठहर्छ । हामी साधारणतया लागनी गरिसकेपछि अध्ययन गर्ने परिपाटी छ जुन सरासर गलत हो ।’
पर्याप्त समय दिई भिजन बनाएरै लाग्ने हो भने सेयरबाट करोडपति हुन सकिने लामिछाने सुनाउँछन् ।
पूँजीबजारप्रति सरकारको बक्रदृष्टि हुनु र नियामक निकायका कामकारवाही कछुवा गतिमा हुनुले नेपालको पूँजीबजारको मुख्य चुनौती रहेको लामिछानेको टिप्पणी छ । हालसम्म पनि फुलफेजको अनलाइन कारोबार प्रणाली सञ्चालनमा नेप्सेले देखाएको उदासीनता निकै दयनीय भएको उनको बुझाइ छ ।
सर्टसेलिङ र अन्य नयाँ उपकरणको विकासमा नेप्सेले निष्क्रियता देखाइरहेको भन्दै लामिछानेले नेप्से र सेबोनको जुहारी चल्ने गरेको आरोपसमेत लगाए । ‘नेप्सेले आफ्नै वेबसाइटमार्फत सूचना र डाटा बेच्न पनि सक्दथ्यो तर नेप्सेले यो काम गर्नै चाहँदैन’, उनी भन्छन्, ‘नेप्से र सेबोनका अधिकारीहरु विदेशमा तालिम लिए पनि त्यस्ता तालिमहरु बेकारमै परिणत भइरहेका छन् ।’
घटिरहेको सेयरबजारमा अहिले सेयर किनेर जोखिम लिँदै २/३ वर्ष पाल्न सके राम्रो रिटर्न आउने लामिछानेको दाबीसमेत छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago