– अर्जुन तिमिल्सिना
काठमाण्डौ । बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज नेपाल राष्ट्र बैंकले सार्वजनिक भएको छ।
पुँजीबजारमा धेरै लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सीडी रेसियो र सेयर धितो कर्जामा लगाइएको ४–१२ को सीमासम्बन्धी व्यवस्थामा केही परिमार्जन हुन सक्ने आशा गरेका थिए। केही लगानीकर्ताले भने यी दुवै व्यवस्थालाई हटाउनुपर्ने माग गर्दै आएका थिए। तर, राष्ट्र बैंकले लामो अध्ययन र अनुसन्धान गरी मौद्रिक नीति ल्याइएकोले दुवै व्यवस्था कायमै राखी प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। सीडी रेसियो तथा ४–१२ सीको व्यवस्थाले पुँजीबजारमा तरलतामा चाप पर्दै जाँदा लगानीकर्तामा मौद्रिक नीतिको समीक्षा निकै चासोको विषय बनेको थियो।
बजारका केही विश्लेषकहरुले सीडी रेसियोले बैंकहरुमा लगानीयोग्य रकमको आभाव भएको र यसै कारण ब्याजदर बढ्न गएको पनि बताउँदै आएका छन्।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आशा गरेअनुरुप नै आएको बताउँछन्। ‘मौद्रिक नीति विज्ञहरुको टोलीले लामो अध्ययन र अनुसन्धान गरेर तयार पार्छन्। त्यसैले पहिलो त्रैमासमै मौद्रिक नीतिमा फेरबदल होला भन्ने अनुमान कमै थियो, त्यस्तै भयो’, उनले भने।
सीडी रेसियोको हालको व्यवस्था बैंकहरुलाई सहज नै भएको बिष्ट बताउँछन्। ‘यसले बैंकहरुलाई थप जिम्मेवार बनाएको छ’, उनी भन्छन्, ‘पहिले प्रत्येक महिना सीडी रेसियो व्यवस्थापन गर्नुपर्ने थियो। अब आसार मसान्तसम्मको सयम दिएको छ।’
हालको सीडी रेसियो र सेयर धितो कर्जाको सीमाले लगानीकर्ताको मनोबल गिरेर बजारमा अल्पकालीन असर पर्न सक्ने बिष्ट बताउँछन्। ‘केही समयमै अवस्था सहज बन्दै गएपछि फेरि बजार आफ्नो लयमा फर्किन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरु यी व्यवस्थाबाट आत्तिहाल्नुपर्ने अवस्था छैन।’
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला मौद्रिक नीतिको समीक्षा बजारमा आशा गरेअनुरुप नआएको बताउँछन्। यद्यपि सीडी रेसियो कार्यान्वयनका लागि असार मसान्तसम्म समयसीमा दिइएकोले यसलाई सकारात्मक नै मान्नुपर्ने उनको भनाइ छ। ‘सीडी रेसियोमा राष्ट्र बैंक लचक देखिएको छ’, उनले भने।
समीक्षामा विलाशिताका वस्तुलाई निरुत्साहित गरिएकोले तरलतामा सहज हुन सक्ने बास्तोला बताउँछन्। ‘जुन असर अल्पकालीनमात्र हुन सक्छ’, उनले भने, ‘बैंकहरुले योजना बनाएर चलेमा तरलता व्यवस्थापन सहज बन्ने देखिन्छ।’
चुनावी आउँदै गर्दा र पुँजीगत खर्च बढ्दै जाँदा तरलता सहज हुने र त्यसैको कारण सेयर बजार पनि पुनः लयमा फर्किने बास्तोलाको तर्क छ। ‘जहाँसम्म सेयर धितो कर्जाको सीमाको विषय छ, यसलाई ठूलो इस्यू बनाउनु हुँदैन’, उनले भने, ‘यसले बजारमा ठूलो प्रभाव पार्दैन तर खेलाडीहरुले यसलाई अस्त्रका रुपमा प्रयोग गरेर बजारलाई प्रभावित पार्ने कोसिसमा भने लाग्न सक्छन्। यसतर्फ सम्बन्धित निकाय चनाखो हुनुपर्छ।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे भने पुँजीबजारमा सेयर धितो कर्जाको सीमामा गरिएको ४–१२ को व्यवस्थाले खासै प्रभाव नपार्ने बताउँछन्। ‘यो मनोवैज्ञानिक त्रासमात्रै हो, यसले अल्पकालीन रुपमा प्रभावित परेको थियो, अबका दिनमा प्रभाव पर्दैन’, उनले भने, ‘यसले लगानीकर्ताहरुको सेन्टिमेन्ट नेगेटिभ हुन सक्छ, त्यसैले यसैका आधारमा सेयर कारोबार गर्नुहुन्न, अहिले नै सेयर बेच्नु उपयुक्त हुँदैन।’
बजारमा केही दिन अल्पकालीन प्रभाव पर्न सक्ने घिमिरेको भनाइ छ। ‘लगानीकर्ताको सेन्टिमेन्ट नेगेटिभ भएको अवस्था छ’, उनले भने, ‘बुक क्लोजले गर्दा र अफ सिजन भएकोले पनि बजारमा सुस्तता आउन सक्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago