काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको जनाएको छ। 

नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्वन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए। राजदूत किकुता युताकासहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसँग आग्रहसमेत गरे। ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ’, उनले भने, ‘लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ।’

मल्लले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन सांसदहरुसँग आग्रह गरे। कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाइ छ। 

जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरु रहेको भन्दै अध्यक्ष मल्लले नागरिकस्तरमा पनि दुई मुलुकबीचको सम्वन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे। नेपालले जापानमा ९० लाख डलरबराबरको वस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ। 

चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्षअघि आएर लुम्बिनीमा वृक्षरोपण गरेको स्मरण गरे। नेपाल र जपानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैँ उत्कृष्ट रहेको उनको भनाइ थियो। 

अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्वन्धलाई जनस्तरसम्मै पुर्याउनुपर्नेमा जोड दिए। नेपालका लागि जपानी राजदूत युताकाले नेपाल जापानबीचको सम्बन्ध सुधारमा चेम्बरले गरेको प्रयासलाई धन्यावाद दिए।