काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। 

काठमाण्डौको बालुवाटारस्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आज साँझ ५ बजे एक कार्यक्रमबीच धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। 

यो कम्पनीले गत माघ २१ गतेदेखि माघ २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो। 

यो आईपीओमा कुल २७ लाख ९ हजार ८५५ आवेदकबाट २ करोड ३१ लाख ४७ हजार १५० कित्ता सेयर माग भएको प्रभु क्यापिटलले जनाएको छ। जुन हालसम्मकै सर्वाधिक हो। 

सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ हजार ३० हजार ३२० कित्ता सेयरलाई रद्द गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार ७०२ जना आवेदकबाट प्राप्त ३,०७,१६,८३० कित्ता सेयरमध्ये सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट ४८ हजार ४३ जना आवेदकलाई शंकास्पद सूचीमा समावेश गरेको छ। सो विवरणलाई  रुजु गर्दा ४ हजार २९० जना आवेदकबाट प्राप्त ५० हार ६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्द गरिएको क्यापिटलले जनाएको छ। जसअनुसार कुल आवेदकमध्ये २५ लाख ८७ हजार ४१२ आवेदकबाट माग भएको ३ करोड ६ लाख ६६ हजार १९० कित्तामात्रै सदर भएको छ। 

सदर आवेदकमध्ये भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २५ लाख ३८ हजार ६२२ आवेदकको हात खालि भएको छ। 

यो आईपीओको नतिजा केहीबेरमै सार्वजनिक हुने प्रभु क्यापिटलले जनाएको छ। यो आईपीओ नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।