काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर आज सोमबारबाट नियमित समयका लागि कारोबारमा आएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यो संस्थाको सेयर स्पेसल प्रिसेसनमा किनबेच भएपछि नियमित समयका लागि कारोबारमा आएको हो। संस्थाको सेयरको पहिलो कारोबार प्रतिकित्ता ३१८.६० रुपैयाँमा भएको थियो। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतममा ४९३.८० रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।  

नेप्सेले जाल्पा सामुदायिक लघुवित्तलाई ‘जेएएलपीए’ कारोबार संकेत प्रदान गरेको छ।

यो लघुवित्त आईपीओ गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। तर हिजो आइतबारको स्पेसल प्रिसेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर किनबेच नभएपछि नियमित समयका लागि कारोबार खुलेको थिएन। 

नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको कुल १६ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्। 

यो लघुवित्त गत माघ २१ गतदेखि माघ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड गत फागुन १ गते गरिएको थियो।