काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अन्तिम दिनसम्म झन्डै ६७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको थियो। यो आईपीओमा आज माघ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २६ लाख ५९ हजार ५४० आवेदकबाट ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन परेको छ। जुन मागको तुलनामा ६६.६५ गुणाले बढी हो। 

यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेका कारण यसको बाँडफाँड गोलाप्रथाबाट हुने निश्चित भएको छ। जसअनुसार गोलाप्रथाबाट भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।