काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ। 

प्राप्त आवेदनको हिसाबले यो आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो। कुल ५ लाख २२ हजार साधारण कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो। आज साँझ ५ बजेसम्म २७ लाख ६ हजार ७६७ जना आवेदकबाट कुल ३ करोड ३१ लाख १३ हजार ३०० कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ४८ हजार ७९० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने साढे २६ लाख बढी आवेदकको हात खालि हुने भएको छ। 

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो।