चरिकोट। जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित भएका छन् । 


बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका हुन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताउनुभएपछि स्थानीयबासी झनै उत्साहित बनेका हुन् । 

दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आउनुभएका अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गरेका हुन् ।

जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तक्र्रिया कार्यक्रमकावीच मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बताए। जिरी वास्तवमा नै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै जिरी नआउँदा नेपालको घुमफिर अधुरो रहने टिप्पणी गरे । 

विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट नापीको बेला कृषि मन्त्रालयअन्तर्गत जानु ठूलो भूल भएको बताउँदै अब फेरि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । 

उनले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताएका छन् । रामेछापको मन्थलीमा हाल सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंकबहादुर जिरेलले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी दिए । २०५२ साल अगाडिसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरपोर्ट तत्कालीन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिनसमेत कृषिब्लकअन्तर्गत नापी गरिएकाले हाल एयरपोर्ट सञ्चालनमा समस्या परिरहेको बताए । 

२०४४ सालमा जिरी—लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा नै ४०० मिटर रनवेलाई उत्तरतर्फ बढाइ ६०० मिटर कायम गरी ३० सेमी ग्राभेलिङसमेत गरी पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको र पुनः २०७२ सालमा आनन्दप्रसाद पोखरेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा फेरि विस्तृत आयोजना प्रतिवेदन डिपिआरसहित तारा एयरलाइन्सको सफल परीक्षण उडानसमेत भइसकेकाले एयरपोर्ट सञ्चालनका लागि जग्गाको स्वामित्वबाहेक अन्य कुनै प्राविधिक समस्या नरहेको जानकारी उनले दिए। 

कार्यक्रममा दोलखाका सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरपोर्ट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । करीब एक घण्टाको अन्तक्र्रियामा जिरीस्थित राजनीतिकदलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।