काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागले नियमित रूपमा कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानीजस्ता महत्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी  समष्टिगत आर्थिक सूचक तथा त्यससँग सम्बन्धित तथ्यांकहरु तयार गरी सार्वजनिक गरेको छ। 

अर्थतन्त्रका विविध पक्षलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि विभागले यस्तो तथ्यांक तयार गरी सार्वज्निक गर्दै आएको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हासिल हुनेछ। सरकराले भने यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो। जुन प्राप्त गर्न असफल भएको छ। 

बेमौसमी पानी परेर कृषि उत्पादन गर्नु, कोभिडका कारण सुरुआती महिनामा ठूलो आर्थिक कारोबार नहुनु, उत्पादन वृद्धिमा भन्दा आयातमा बढी कर्जा प्रवाह हुनु र सरकारको विकास खर्च हुन नसक्नुजस्ता कारणले आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन नसकेको छ। 

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले २३.९५ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७६.०५ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको तथ्यांकमा उल्लेख छ। 

त्यसैगरी गैरकृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।