काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान सबैभन्दा बढी देखिएको छ। 

राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्यांकमा बागमती प्रदेशको योगदान चालु आवमा ३६.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष जीडीपीमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत थियो । यो हिसाबले भने जीडीपीमा चालु आवमा बागमती प्रदेशको योगदान केही घटेको छ। 

तथ्यांकअनुसार जीडीपीमा योगदानका हिसाबले प्रदेश नं. १ दोस्रो स्थानमा छ। यो प्रदेशको योगदान १५.७ प्रतिशत रहेको छ। यसैगरी १४.१ प्रतिशतको योगदानसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा छन्। 

जीडीपीमा ८.९ प्रतिशतको योगदानसहित गण्डकी प्रदेश पाँचौँ स्थानमा, सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौँ स्थानमा र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौँ स्थानमा रहेको तथ्यांकले देखाएको छ। 

विभागले प्रदेशस्तरीय आर्थिक वृद्धिदरमा भने चालु आवमा बागमती प्रदेशको ६.७४ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश नं. १ को ५.४१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

यसअघि विभागले चालु आवका लागि मुलुकको अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिसकेको छ।