काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ। 

यो आईपीओमा लमजुङ जिल्ला मर्स्याङ्दी गापा (साबिक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का स्थानीयले आवेदन दिन पाउनेछन्। 

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँबराबरको सेयर विदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ। 

स्थानीयले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।  

आयोजन प्रभावित क्षेत्रका स्थानीयले यो आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा जेठ ३० गतेसम्म म्याद लम्बिनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ १६ गतेसम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो कम्पनीको आर्यपीओ बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।