काठमाण्डौ । स्वाब रिपोर्ट ढिलो आएको भन्दै अस्पतालले शव हस्तान्तरण गरेपछि दाहसंस्कार समेत भइसकेका एक मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको मृत्युपछि स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कार भने एकसाताअघि नै परिवारले आफ्नो रीतिअनुसार गरिसकेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएका ती वृद्धको उमेर ७० वर्षका रहेको थियो । उनको दुवै मृगौलामा समस्या देखिनुको साथै दम र क्षयरोगको समेत समस्या देखिएको थियो ।
ती वृद्धको मृत्यु भएकै दिन स्वाब संकलन गरी वीरगञ्जमा परीक्षण गरिएको थियो । त्यहाँ शंकास्पद रिपोर्ट आएपछि थप कन्फर्म गर्न स्वाबलाई केन्द्रीय प्रयोगशाला टेकू पठाइएको थियो । तर, टेकूले स्वाब परीक्षणमा गरेको ढिलाईपछि अस्पतालले वृद्धको शव आफन्तलाई जिम्मा लगाएको थियो ।
आफन्तले समेत दाहसंस्कार गरेका थिए ।
तर, ढिलो गरी टेकूले पठाएको रिपोर्ट पोजिटिभ आएपछि मात्र ती वृद्ध कोरोनाका कारण मरेका पुष्टि भएको दाबी गरिएको छ ।
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जेठ ४ गते मृत्यु भएका वृद्धको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सो घटनाको छानबिन गर्ने बताइसकेका छन् । रिपोर्ट नै नआई अस्पतालले शव दिनु गलत रहेको उल्लेख गर्दै दोषीहरुमाथि कारबाही समेत हुने प्रजिअ बस्नेतले बताएका छन् ।
उनले समेत जेठ ४ गते मृत्यु भएका व्यक्तिको स्वाब तत्काल पठाइए पनि रिपोर्ट सोमबार मात्र आएको असन्तुष्टि व्यक्त गरे ।
कोरोना संक्रमितहरुको शवबाट समेत संक्रमण फैलिने खतरा हुन्छ । यहीकारण त्यस्ता शवहरुको व्यवस्थापन निकै सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । तर, अस्पतालको लापरबाहीले सामान्य व्यक्तिको शव झै बुझेर आफन्तले दाहसंस्कार गरेका थिए । सो शवबाट आफन्तजन, मलामी गएका व्यक्ति लगायतमा समेत कोरोना संक्रमण फैलिनसक्ने खतरा हुन्छ । अब सरकारले सो शवको सम्पर्कमा गएका, मलामी गएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्नुपर्ने हुन्छ ।
स्थानीय प्रशासनले नेशनल मेडिकल कलेजको अस्पताल शिल गर्ने तयारी समेत थालेको छ ।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19