काठमाण्डौ। सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएका व्यक्ति खोप केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोनाविरुद्ध खोप लगाइदिन सरकारलाई शुक्रबार आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो। संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक. विस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरुलाई घरघरमै गएर खोप लगाइदिन सर्वोच्चले आदेश दिएको छ। ‘राज्यले वडा–वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी विपक्षीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ। 

संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनका लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि सर्वोच्चको आदेशमा उल्लेख छ।