काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। 

बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। बैंकले प्रतिकित्ता न्यूनतम २७० रुपैयाँ तोकेर प्रुडेन्सिय क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको १ लाख कित्ता र संस्थापक सेयरधनी प्रतिमा अर्यालको स्वामित्वमा रहेको ४५ हजार ९९१ कित्ता सेयर बिक्री गर्ने भएको छ। 

यसैगरी बैंकले प्रुडेन्सियल क्यापिटलकै स्वामित्वमा रहेको ५० हजार कित्ता र संस्थापक सेयरधनी धनबहादुरको स्वामित्वमा रहेको ३ हजार २४३ कित्ता संस्थापक सेयर पनि बिक्रीमा राखेको छ। जसमा प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको सेयरमा प्रतिकित्ता २५० रुपैयाँ र धनबहादुरको स्वामित्वमा रहेको सेयरको प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। 

बैंकका संस्थापक सेयरधनीहरुले मात्र यी सेयर  खरिदका लागि आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बुटवलको कालिकानगरमा बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने इच्छुक योग्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।