काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २६.४७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६९.०२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८१ अंकले घटेर ३७३.५६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार महेश रिजाल राजनीतिक अन्यौलताका कारण बजारमा खरिदचाप नआउँदा बजारमा करेक्सन आएको बताउँछन्। ‘बजार अझै केही दिन साइडवेजमै चल्न सक्छ’, उनले भने, ‘वैशाखबाट कर्जा र निक्षेपको ब्याजदर घट्ने सम्भावना रहेकोले त्यसबीचमा राजनीतिक स्थायित्व भएको खण्डमा बजारले माथिल्लो लय समात्न सक्छ।’

अर्का बजार जानकार प्रकाश रजौरे पनि पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा बजारमा दबाब सिर्जना भएको बताउँछन्। ‘अहिले खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएकोले बजार घटेको हो’, उनले भने।

‘वार्षिक क्यालेन्डरअनुसार तोकिएको समयमा परिस्थिति नीति–नियम फेरबदल गर्दा समग्र अर्थतन्त्र सहज हुने र पुँजीबजारले पनि सहज रुपमा लिने अवस्था सिर्जना हुन्थ्यो, जसले लगानीकर्ताको मनोबल पनि कमजोर हुँदैन थियो’, रजौरेले भने, ‘तर, राष्ट्र बैंकले बारम्बार बजार प्रभावित गर्ने गरी बेला–बेला नीति–नियम फेरबदल गर्दै आएको छ। राष्ट्र बैंकको यही दादागिरीले सेयर बजारमा बारम्बार नकारात्मक प्रभाव पर्दै आएको छ।’

राष्ट्र बैंकले बेलैमा अनुगमन नगर्ने र अवस्था बिग्रिएपछि आफूमातहतका बैंक तथा वित्तीय संस्थालाई नियन्त्रण गर्न भनेर नीति–नियम ल्याउनुले सेयर बजारलाई धरासायी बनाउने काम भइरहेको रजौरे बताउँछन्। ‘बजार घट्नुको मुख्य कारक राष्ट्र बैंक नै हो’, उनले भने, ‘राष्ट्र बैंककै कारण लाखौँ लगानीकर्ताको सम्पत्ति जोखिममा परेको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक २.६४ प्रतिशतको विन्दुमा झरेको छ। व्यापार समूह २.३२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९४ प्रतिशत, विकास बैंक समूहमा ०.८४ प्रतिशत, वित्त समूहमा १.५६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६६ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशत, लगानी समूहमा १.४३ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९५ प्रतिशत र अन्य समूहमा १.४४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५६ कम्पनीका ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ कोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ४ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५१ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको २ करोड ४३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ४१ लाख रुपैयाँ, अपर तामाकोशीको २ करोड २३ लाख रुपैयाँ, युनिभर्सल पावरको २ करोड ४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बुद्धभूमि नेपाल हाइड्रोपाव र युनिक नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन ग्लोबल आइएमई लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुविको सेयरभाउ ७ प्रतिशतले ओरालो लागेको छ।