काठमाण्डौ । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता आईपीओ ल्याउन लागेको हो। आईपीओ बिक्री प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

झापा इनर्जीको काठमाण्डौको पिंगलास्थानस्थित कार्यालयमा आज एक कार्यक्रमबीच आईपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा झापा इनर्जीका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटलका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा झापा इनर्जीका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटलकी अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिति थियो। 

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने सेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकमबराबरको ६ लाख ६६ हजार ६०० कित्ता सेयरको सार्वजनिक निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिने योजनामा कम्पनी रहेको छ। 

कम्पनीले झापाको शिवसताक्षी–४मा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ। आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए। आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्यप्रगति हासिल भएको छ र आयोजना आउँदो आसोजमा सुरु हुने अपेक्षा गरिएको छ।

निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख रहेको छ। आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साबिक सिभिल बैंक)को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोग गरिनेछ। यसका साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षका लागि प्रतियुनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ।

टोटल एनुअल कन्ट्रयाक्ट इनर्जी १७.६१ जीडब्ल्यूएच रहेको छ। ९६० मिटर ३३ केभीए प्रसारण लाइनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ।