काठमाण्डौ । सेयर बजारमा मंगलबार झिनो करेन्सन भएको छ। 

बजारमा आज २.७६ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक २१९३.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने स्थिर रहँदै ४२१.१३ को विन्दुमै रहेको छ। हिजोको तुलनामा कारोबार घटेर आज सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीका अनुसार आजको कारोबारले लगानीकर्ताको मनोबल बढेको देखिन्छ। ‘अहिले बजार साना ऋण र स्वपुँजीले नै चलेको छ’, उनले भने।

घरजग्गालगायतका क्षेत्रका व्यवसायी पनि अहिले सेयर बजारमा भित्रिरहेको कार्की बताउँछन्। ‘लगानी भित्रिएकै कारण अहिले बजार इन्ट्राडे करेक्सनमा सीमित भएको देखिन्छ’, उनले भने। 

अहिले लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गरिरहेको हुन सक्ने कार्कीले बताए। ‘एक–दुई दिन प्रफिट बुक भएपछि बजार फेरि माथि नै जाने देखिन्छ’, उनले भने।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आज बजार हेर्दा मजबुत नै देखिएको बताउँछिन्। प्राविधिक रुपमा पनि बजारले हायर हाई बनाउँदै अगाडि बढेको उनको भनाइ छ। ‘अब २२५० कटे बजार अझै मजबुत हुनेछ’, उनले भनिन्। 

आधारभूत रुपमा हाल धमाधम रुपमा कम्पनीको चौथो त्रैमासको रिपोर्ट आइरहेकोले बजार बढ्नलाई टेवा पुगिरहेको तिवारी बताउँछिन्। ‘तेलको भाउ घट्नु र ब्याजदर नबढ्नेजस्ता समाचारले बजारमा सकारात्मक परेको देखिन्छ’, उनले भनिन्, ‘यद्यपि लगानीकर्ताहरु मौद्रिक नीतिपछिको सर्कुलर कुरिरहेको देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.९५ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.२४ प्रतिशतले बढ्दा जलविद्युत समूहमा १.१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०२ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक १.०४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.९५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४४ प्रतिशत, विकास बैंक समूहमा ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशत, जीवन बीमा समूहमा ०.६२ प्रतिशत र लगानी समूहमा ०.५९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका ७८ लाख १३ हजार १०२ कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज फरवार्ड लघुवित्तको ९ करोड २४ लाख रुपैयाँ, गुडविल फाइनान्सको ९ करोड ४ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको ७ करोड ६० लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ३१ लाख रुपैयाँ, नेपाल फाइनान्सको ७ करोड १५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ७९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ६ करोड २९ लाख रुपैयाँ र अपर तामाकोशीको ५ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन्ध्यावासिनी हाइड्रोपावर, सामलिंग पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन राष्ट्र उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।