काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ। 

बजार आज ३.७६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९३.०२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले बढेर ३८७.४६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर सवा १ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार धेरै तल नजाने बताउँछन्। ‘किनकि लाभांशको सिजन पनि सुरु भइसकेको छ’, उनले भने।

दसैँतिहारमा रेमिट्यान्स पनि ठूलो मात्रामा भित्रिने भएकोले तरलता पनि सहज हुने ढकालको भनाइ छ। ‘चुनावको मिति पनि नजिकिँदै गएकोले अब दूरदराजका पैसा पनि बाहिर निस्किन्छ’, उनले भने, ‘यसले तरलता सहज हुने र ब्याजदर नबढ्ने अवस्था सिर्जना हुन्छ।’

राष्ट्र बैंकले जोखिम भार १०० मा झार्नुपर्ने ढकालको भनाइ छ। ‘त्यस्तै सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउनुपर्छ’, उनले भने, ‘त्यसपछि बजारले राम्रै बाउन्स लिन्छ।’

बजार जानका गोविन्दप्रसाद घिमिरे बजार तत्काल धेरै घट्ने ठाउँ नरहेको बताउँछन्। ‘हिजोबाट राष्ट्र बैंकले वैधानिक तरलता अनुपात (सीआरआर) बढाएर ४ प्रतिशत पुर्याएको छ, यसले बजारमा केही दबाब सिर्जना भएको हुन सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.८९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.८७ प्रतिशत, विकास बैंक समूहमा ०.८ प्रतिशत, जलविद्युत समूहमा ०.३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, अन्य समूहमा ०.५५ प्रतिशत र जीवन बीमा समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.१२ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.५८ प्रतिशत घट्दा लघुवित्त समूहमा ०.०९ प्रतिशत र बैंकिङ समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ३४ लाख ४० हजार ९०० कित्ता सेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक ११ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ५ करोड रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ५८ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ५४ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ३९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ११ लाख रुपैयाँ, अपी पावरको २ करोड ८९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ।

आज रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।