काठमाण्डौ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज कारोबार रकम भने ३ अर्ब रुपैयाँ नाघेको छ ।

आज नेप्से परिसूचक ४.२९ अंकको बढोत्तरीका साथ १५६५.५६ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकको बढोत्तरीका साथ ३१०.४८ को उचाइमा पुगेको छ।

आज बैंक, विकास बैंक र वित्त समूहमा हरियाली छाएको छ । आजकै दिन सबैभन्दा कमाउने कम्पनीमा हाइड्रोपावर कम्पनी र वित्त समूह परेका छन् ।

केही सातादेखिको निरन्तर हाइड्रोपावरको सेयरमूूल्य आज भने करेक्सन आएको छ । आजै प्रकाशित ङादीले पहिलो त्रैमासमा उल्लेख्य प्रगति गर्न नसकेको विवरण प्रकाशित गरेसँगै लगानीकर्ताहरु फाइनान्स, विकास बैंक र बैंकतर्फ आकर्षित भएका हुन् । बैंक समूहमा लगानीकर्ताको चहलपहल बढेसँगै परिसूचकमा समेत निकै राम्रै दबाब पर्न सक्ने विश्लेषकहरु बताउँछन् ।

पछिल्ला समयमा लगानीकर्ताहरुले सेयर खरिद गर्न बैंक तथा वित्तीय संस्थाबाट सस्तो दरमा सेयर धितो कर्जा पाएसँगै होल्ड गर्ने र महँगो मूल्यमा बिक्री गर्ने ट्रेन्ड चलेको विश्लेषकहरुको भनाइ छ । यही कारणसमेत बजार करेक्सन भारी अंकले गिरावट नआएको विश्लेषकहरु दाबी गर्छन् ।

लगानीकर्ताहरुमा अब बजार बढ्छ भन्ने निकै बलियो मानसिकताका कारणसमेत अब परिसूचकमा ठूलो गिरावट नआउने विश्लेषकहरुको जिकिर छ ।

केही विश्लेषकहरुले आइतबारको बजार दोहोरो अंकले बढ्ने प्रक्षेपण गरेका थिए । तर, बिहानदेखि नै मन्त्रीमण्डल पुनर्गठनको विषयले लगानीकर्तालाई अलमलमा पारेको देखियो । मन्त्रीपरिषद पुनर्गठन हुँदा अर्थमन्त्री को आउने भन्ने विषयमा लगानीकर्ताले चासो दिए । बजार खुलेपछि पनि यो विषय अन्यौलमै रहँदा राम्रै परिणाममा सेयर खरीद गर्न तयार लगानीकर्ता पनि रोकिएका देखियो । 

आज ८० कम्पनीका सेयरमूल्य उक्लियो भने ८१ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो । यस्तै ९ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो ।

आज नेप्से उपसमूहमा रहेका १२ मध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा समूहमा रातो पोतिएको छ।

यो दिन होटेल्स् समूहमा सबैभन्दा धेरै ५१.७१ अंकको उछाल आएको छ । बैंकिङ समूहमा १३.७४ अंकको बढोत्तरी भएको आज विकास बैंक समूह १३ अंक, वित्त समूह ११.६३ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ८३.५९ अंकको गिरावट आएको छ । निर्जीवन बीमा समूहमा ७२.५३ अंकको गिरावट आएको यो दिन व्यापार समूह १.९४ अंक, जलविद्युत् समूह १३.१ अंक, उत्पादन तथा प्रशोधन समूह ४४.८१ अंक, अन्य समूह १.५४ अंक र लघुवित्त समूह ६.६२ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३७१ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन सोल्टी होटेलको सबैभन्दा धेरै ४८ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोको १४ करोड २७ लाख रुपैयाँ, कुमारी बैंकको १३ करोड १५ लाख रुपैयाँ, सिभिल बैंकको ११ करोड १० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड रुपैयाँ, अपी पावरको ८ करोड ६५ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ५६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकको ७ करोड ६८ लाख रुपैयाँ र अरुण काबेली पावरको ७ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउनेहरु
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स र राइराङ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो ।

यसैगरी घलेम्दी हाइड्रो, वरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत, कर्णाली डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाएका छन् । यो कम्पनीको सेयरमूल्यमा ७.११ प्रतिशतको गिरावट आएको छ ।