काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो गिरावट आएको छ। 

आज बजारमा ४.२९ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक १९७३.०१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८२ अंकले घटेर ३८२.९५ को विन्दुमा झरेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ मुनि झरेको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट बजार केही समययता स्थिर रहेको बताउँछन्। ‘घरजग्गाको कारोबार ठप्प भएको छ, यसले पनि सेयर बजारमा केही असर गरेको छ’, उनले भने, ‘बजार अझै केही समय साइडवेजमै चल्न सक्ने देखिन्छ।’

आज बजारमा किन्ने र बेच्नेबीच मोलमलाई देखिएकोले कारोबार बढ्न नसकेको बिष्टको तर्क छ। उनको विचारमा केही समय बजार साइडवेज चलेर ६–८ महिनामा नयाँ उचाइमा पुग्ने सम्भावना छ।

पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला पनि बजार अहिले साइडवेजमै चलिरहेको बताउँछन्। ‘बजार केही गुड न्युजको प्रतीक्षामा रहेको छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ०.०६ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक १.०४ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१ प्रतिशत, व्यापार समूहमा ०.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३ प्रतिशत, विकास बैंक समूहमा ०.३ प्रतिशत, जलविद्युत समूहमा ०.२७ प्रतिशत, वित्त समूहमा ०.५९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र लगानी समूहमा ०.५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन रिडी पावरको सर्वाधिक ९ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड ५६ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ४२ लाख रुपैयाँ र रिलायन्स फाइनान्सको १ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मैलुङखोला जलविद्युतका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।