काठमाण्डौ । सेयर बजारमा बुधबार पनि सामान्य सुधार आएको छ।
बजार आज ६.४१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८३७.४६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले बढेर ३५९.५९ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ५० करोडको हाराहारीमा मात्रै भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजारमा दसैँ प्रभाव परेको बताउँछन्। ‘लगानीकर्ताहरु सबै फेस्टिभल मुडमा रहेका छन्, त्यसैले बेचेर पनि पैसा नआउने र किन्ने पनि पर्ख र हेरको अवस्थामा रहेका छन्’, उनले भने, ‘त्यही भएर कारोबार घटेको हो।’
बजार जानकार वीरेन्द्र बिष्ट कारोबार घट्नुमा बेच्नेहरु पछि हटेको संकेत गर्ने बताउँछन्। ‘सरकारले ताकेता गरेका कारण ब्याजदर नबढ्न सक्छ’, उनले।
बिष्टले बजारले करिब–करिब डबल बटम लगाइसकेकोले अब नघट्ने बताउँछन्। ‘तरलता पनि सहज हुँदै गएको देखिन्छ, ४५ दिनमा ९७ अर्ब रुपैयाँ तरलता बढेको छ’, उनले भने, ‘सरकारको खर्च बढेकोले तरलता पनि बढेको हो।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटा समूहमा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.७४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, जलविद्युत समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३७ प्रतिशत, जीवन बीमा समूहमा ०.२४ प्रतिशत र लगानी समूहमा ०.४८ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.४३ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.२६ प्रतिशतले घट्दा व्यापार समूहमा ०.२४ प्रतिशत र अन्य समूहमा ०.२३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका १३ लाख ७० हजार ४७७ कित्ता सेयर ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँमा किनबेच भएका छन्।
आज नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयरको सर्वाधिक ४ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन रिडी पावरको २ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४४ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड २३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड १३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको १ करोड १३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ४ लाख रुपैयाँ, अपी पावरको ९८ लाख ७७ हजार रुपैयाँ र एनआईसी एसिया बैंकको ९८ लाख ३४ हजार रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मन्दाकिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन राप्ती हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19