काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ।
बजार आज ३.८१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०१९.७३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले घटेर ३८१.९३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम डेढ अर्बभन्दा कम भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार राजनीतिक घटनाक्रमले बजारमा अन्यौलता छाएको बताउँछन्। ‘यही कारणले बजारमा ठूलो उतारचढाव हुन सकेको छैन’, उनले भने।
पछिल्लो समय राष्ट्र बैंकले ल्याएको लघुवित्तसम्बन्धी सर्कुलरले १–२ दिन बजारलाई प्रभाव पारेको रौनियार बताउँछन्। ‘यद्यपि राष्ट्र बैंकको सर्कुलर र सरकारबाट एमालेको बहिर्गमनलाई बजारले पचाएको छ’, उनले भने, ‘किनकि २००० भन्दा तल झरेको बजार फेरि सम्हालिएर त्योभन्दा माथि बन्द भएको छ।’
यसले राजनीतिभन्दा पनि अर्थतन्त्र बजारका लागि प्रमुख रहेको प्रस्ट पारेको पनि रौनियार बताउँछन्।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल राष्ट्रपति निर्वाचन र नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ताहरु रहँदा कारोबार घट्नुका साथै बजार सुस्त देखिएको बताउँछन्। ‘अर्थतन्त्रमा सुधारका संकेत देखिइरहेका छन्’, उनले भने, ‘अब आउने अर्थमन्त्रीले बजारमैत्री नीति ल्याएमा बजारले नयाँ हाई बनाउँदै जाने सम्भावना छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
यो दिन लगानी समूह सर्वाधिक १.०३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.८९ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र व्यापार समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.९७ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.८० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३२ प्रतिशत, विकास बैंक समूहमा ०.४४ प्रतिशत, वित्त समूहमा ०.२७ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५० प्रतिशत र अन्य समूहमा ०.७० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ३९ लाख ४६ हजार २४ कित्ता सेयर १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन युनिभर्सल पावरको सर्वाधिक ७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाख रुपैयाँ, निफ्राको ३ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ४४ लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ४१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ३ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ४८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २ करोड ३२ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको २ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र अप्तड लघुवित्तका सेयरधनीहरु मालामाल भए। यी तीनै लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो, सामलिंग पावर र तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरु धेरै गुमाए। यी चारवटै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago