काठमाण्डौ । सेयर बजारमा बुधबार झिनो गिरावट आएको छ। 

आज बजार २.४३ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८४१.९३को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ अंकले घटेर ३५३.८० को विन्दुमा ओर्लेको छ। कारोबार रकम करिब ५९ करोड रुपैयाँको मात्रै भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजारको अवस्था हेर्दा लगानीकर्ताले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कुरेर बसेकोजस्तो देखिएको बताउँछन्। ‘लगानीकर्ताहरु सेयर धितो कर्जामा १२ करोड क्याप हट्ने र १५० जोखिम भार १०० प्रतिशतमा झर्नेमा आशावादी छन्’, उनले भने, ‘तर, यस्ता आशाहरु पटक–पटक तु्हिएको हुनाले विश्वास गरिहाल्ने स्थिति भने छैन। त्यसैले पनि लगानीकर्ताहरु खरिदमा नउत्रिँदा बजार साइडवेजमा चलेको हो।’

आगामी आर्थिक वर्षको बजेट पनि लगानीकर्ताहरुले कुरिरहेको हुन सक्ने बास्तोला बताउँछन्। ‘यिनै कारणले कारोबार सुस्त भएको र बजार साइडवेजमा चलेको हो’, उनले भने।

बजार जानकार विष्णु भुसाल चर्को ब्याजदरका कारण पनि बजार प्रभावित भएको बताउँछन्। ‘बजार हल्ला चलेजस्तो ब्याजदर घटेको छैन, चर्को ब्याजदरमा कर्जा लिएर लगानी गर्ने स्थिति पनि छैन’, उनले भने, ‘त्यसैले पनि खरिदचाप नदेखिँदा बजार सकारात्मक बन्न नसकेको हो।’

यतिबेला लगानीकर्ताहरु मनोबल उच्च बनाउने खबरको प्रतीक्षामा रहेको पनि भुसालले बताए। 

आज नेप्सेमा उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६० प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले बढ्दा वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.०९ प्रतिशत, लघुवित्त समूहमा ०.०३ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक ०.७९ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूहमा ०.४३ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, बैंकिङ समूहमा ०.२२ प्रतिशत, विकास बैंक समूहमा ०.२६ प्रतिशत, लगानी समूहमा ०.३६ प्रतिशत, जीवन बीमा समूहमा ०.१० प्रतिशत र व्यापार समूहमा ०.२३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका १९ लाख ४२ हजार ६२६ कित्ता सेयर ५८ करोड ९१ लाख ७७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ५६ लाख रुपैयाँ र एभरेस्ट बैंकको १ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड २९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड २६ लाख रुपैयाँ, सोल्टी होटेलको ९८ लाख ७८ हजार रुपैयाँ, सानिमा बैंकको ९२ लाख ४३ हजार रुपैयाँ र प्रभु बैंकको ९२ लाख २६ हजार रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन मन्दाकिनी हाइड्रोपावर र जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।