काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ। 

आज बजार ४.६८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३२.३३ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ३६५.४७ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) आजको बजारको चालले अल्पकालीन लगानीकर्ता हावी भएको प्रस्ट देखिने बताउँछन्। ‘छिट्टै नाफा बुक गर्ने प्रवृत्ति बढेको छ’, उनले भने। 

कोइराला १८०७ नै बजारको बटम रहेको बताउँछन्। ‘त्यहीँबाट बुल चक्र सुरु भएको छ’, उनले भने, ‘अब बजार विस्तारै माथि नै जान्छ।’

अर्का बजार जानकार सूर्यनारायण पौडेल पनि आज बजारमा नाफा बुक भएको बताउँछन्। ‘बजारले १९५० मा प्रतिरोधको सामना गरेको छ’, उनले भने, ‘यसले लगानीकर्ताको मनोबल अझै उठ्न नसकेको बुझिन्छ।’

लगानीकर्ताहरुले मौद्रिक नीति पनि कुरिरहेको हुन सक्ने पौडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ४.९७ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.२२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा ०.०४ प्रतिशत, जलविद्युत समूहमा ०.४६ प्रतिशत, लगानी समूहमा ०.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५६ प्रतिशत र अन्य समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.६२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२३ प्रतिशत, जीवन बीमा समूहमा ०.०४ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६१ कम्पनीका ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ८ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको ६ करोड ९० लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ५२ लाख रुपैयाँ, आइजीआई प्रिडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५ करोड २९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड २२ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ४ करोड ८१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४ करोड ५ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज युनिक नेपाल लघुवित्तका सेयरधनीहरुले सर्वाधिक कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।