काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ।
आज बजार ३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८९.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२५ अंकले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ। कारोबार हिजाको तुलनामा घटेर १ अर्ब ७८ करोड रुपैयाँको भएको छ।
बजार जानकार उपेन्द्र पाठक हिजोआजको कारोबार हेर्दा लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको मान्न सकिने बताउँछन्। ‘प्रिमियमका आएका आईपीओ र केही कम्पनीको संस्थापक सेयर सर्वसाधारणमा परिणत भएपछि बजारबाट पैसा बाहिरिएको छ’, उनले भने।
बजारमा नयाँ पैसा पनि आउन नसकेको पाठकको भनाइ छ। ‘यिनै विविध कारणले बजार बढ्न नसकेको हो’, उनले भने।
अहिले बजारले शक्ति सञ्चय गरिरहेको हुन सक्ने पनि पाठकको अनुमान छ। ‘किनकि यो समयमा सेयर बजार बिरलै घट्ने गर्छ’, उनले भने।
अर्का बजार जानकार प्रकाश रजौरे पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। ‘यही कारणले कारोबार पनि घटेको हो’, उनले भने, ‘तर, बजार बढ्ने हो। किनकि ब्रोकरको संख्या थपिएको छ। एनआरएन भित्र्याउन पहल पनि भइरहेको छ।’
बैंकहरुको आधारदर घट्दा ब्याजदर पनि घटिरहेको रजौरे बताउँछन्। बैंकहरुका लागि पनि सुरक्षित लगानी सेयर कर्जा नै रहेको उनको भनाइ छ। ‘लगानीकर्ताको मनोबल बढेसँगै बजार पनि लयमा फर्किनेछ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४५ प्रतिशत, लगानी समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२४ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.५२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.५८ प्रतिशत घट्दा विकास बैंक समूहमा ०.२० प्रतिशत, जलविद्युत समूहमा ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सीएचडीसीको ५ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएपसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ५ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ४ करोड ६१ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ५८ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ४७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ३ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19