काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले वृद्धि भएको छ। नेप्से इन्डेक्स आज ५.१६ अंकले बढेर १८९४ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेको छ। 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जीवन बीमा, व्यापार र उत्पादन तथा प्रशोधन उपसूचकबाहेकका सबै इन्डेक्समा हरियाली छाएको छ। बीमा समूहका दुई उपसूचकहरु लाइफ र नन लाइफमा आज जीवन बीमा सबइन्डेक्स ०.४२ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा सबइन्डेक्स ०.०६ प्रतिशतले घटेको छ। 

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ४.३० प्रतिशतले वृद्धि भएर ४६६.१० रुपैयाँ पुगेको छ। 

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.३१ प्रतिशतले वृद्धि भई सेयरभाउ ६८७ रुपैयाँ, सलिकोको १.१८ प्रतिशतले बढेर ६८८ रुपैयाँ पुगेको छ। साथै, नेपाल इन्स्योरेन्सको ०.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८४ प्रतिशत, आइएमई लाइफको ०.६७ प्रतिशत, सूर्यज्योति लाइफको ०.५७ प्रतिशत, नेपाल लाइफको ०.४६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.३२ प्रतिशत, हिमालयन लाइफको ०.२५ प्रतिशत, युनाइेटड अजोड इन्स्योरेन्सको ०.२१ प्रतिशत, नेसनल लाइफको ०.१९ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.०४ प्रतिशतले बढेको छ। 

त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ४.२१ प्रतिशतले घटेर ४७८ रुपैयाँ कायम भएको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.६४ प्रतिशत, एसियन लाइफको ०.७५ प्रतिशत, नेको इन्सुरेन्सको ०.६० प्रतिशत, एनएलजीको ०.५४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५१ प्रतिशत, सिटिजन लाइफको ०.२२ प्रतिशत, एलआईसी नेपालको ०.०८ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०२ प्रतिशतले घटेको छ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा ३ वटा बीमा कम्पनी परेका छन्। सर्वाधिक रिलायबल नेपाल लाइफको २ करोड ७८ लाख, सिटिजन लाइफको २ करोड ५१ लाख र हिमालयन एरभेष्ट इन्स्योरेन्सको २ करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ।