काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन बजार झिनो अंकले उकालो लागेको छ।

बजार आज १.१३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६५८.७४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। हिजो नेप्सेले अल टाइम हाई रेकर्ड ब्रेक गर्दै २६५७.६१ को विन्दुमा पुगेको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले बढेर ४७१.८४ को विन्दुको उचाइमा पुगेको छ। कारोबार रकम भनेर घटेर ७ अर्ब रुपैयाँ बढीमा सीमित बनेको छ।

युवा लगानीकर्ता तथा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले बजारले थप उचाइ लिनेमा कुनै शंका नरहेको बताए। ‘कोरोना संक्रमण बढ्दै गएकोले पहिलेकै जस्तै परिस्थित आउँछ भनेर अन्य क्षेत्रमा लगानी गर्न मानिसहरु डराइरहेका छन्’, उनले भने, ‘त्यस्ता मानिसहरुले अहिले सेयर बजारमा धमाधम लगानी गरिरहेका छन्, लगानी थपिनु भएको बजार माथि जानु नै हो।’

अहिले लघुवित्त, फाइनान्सजस्ता सेक्टरहरु बढिरहेकोले अब बैंकहरुको पनि बढ्ने अग्रवालको तर्क छ। ‘बैंकहरु बढ्न थालेपछि बजारले थप उचाइ लिन्छ’, उनले भने, ‘बजार बुल ट्रेन्डमा रहेकोले सोचविचार गरेर लगानी गर्दा उचित प्रतिफल प्राप्त हुनेमा कुनै शंका छैन।’

बैंकहरुको ब्याजदर एकल विन्दुमा रहेको र आधार दर पनि ७ वर्षयताकै न्यून रहेकोले बजारमा यसले सकारात्मक प्रभाव पार्ने अग्रवालको ठहर छ। ‘राम्रा र बलिया कम्पनीहरुमा लगानी गर्ने र होल्ड गर्न सक्नेले बाजी मार्ने सम्भावना छ’, उनले भने।

पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाले अहिलेको बजारमा सूचक हेरेरभन्दा पनि पुँजीगत लाभ तथा लाभांश हरेर लगानी गर्दा उचित हुने सुझाव दिन्छन्। लगानीकर्ताले आफ्नो जोखिम क्षमता हेरेर र कम्पनीका लाभांश इतिहास हेरेरमात्र लगानी गर्नुपर्ने उनको भनाइ छ। ‘यसो गरेमा लगानीकर्ताले बजारबाट राम्रै आम्दानी गर्न सक्छन्’, उनले भने।

बजार माग र आपूर्तिको भरमा चल्ने हुँदा अहिले बैंकिङ सेक्टरमा खासै चार्म आउन नसकेको कोइरालाको तर्क छ। ‘तर बैंकिङ सेक्टरमा पनि छिटै चार्म आउनेछ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक १३२.६५ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ११४.८ अंकले बढेको आज जलविद्युत् समूहमा ४६.४९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २४.८ अंक, अन्य समूहमा ३३.०२ अंक, लघुवित्त समूहमा ३४.६३ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १०६.६१ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ३८.९६ अंकले घटेको आज बैंकिङ समूहमा ११.७९ अंक, विकास बैंक समूहमा १३.४२ अंक, वित्त समूहमा ०.९५ अंक र लगानी समूहमा ०.८६ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँमा किनबेच भएको छ।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ३४ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २८ करोड ९४ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २५ करोड २५ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ५ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड ५६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको १५ करोड १८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड १ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९४ लाख रुपैयाँ र रसुवागढी हाइड्रोपावरको १३ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। एनआईसी एसिया लघुवित्त, राधी विद्युत कम्पनी, वमी लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोटिभि सर्किट लागेको हो।

यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।