काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ।

आज बजार १.१५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१९६.२५ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९४ अंकले बढेर ४२१.१४ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल आज बजारमा नाफा बुक भएको बताउँछन्। ‘त्यसैले बजार झिनो अंकले मात्रै बढ्यो’, उनले भने, ‘अल्पकालीन लगानीकर्ताहरु हावी हुँदा आज बढेको बजार टिक्न सकेन।’

बजारलाई कारोबारले भने सपोर्ट गरेको लम्साल बताउँछन्। ‘२५ लाख रुपैयाँसम्म सेयर लोन पाउने अवस्था छ’, उनले भने, ‘ट्रेन्डको हिसाबले बजार बुलिस नै रहेका बजार अझै केही अंकले बढ्ने देखिन्छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि आज अल्पकालीन लगानीकर्ता हावी हुँदा बढेको बजार टिक्न नसकेको बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गाडीलगायत विलासिताका वस्तुको आयात रोक्नु र घरजग्गामा कडाइ गर्नुले केही पैसा सेयर बजारमा भित्रिएको हुन सक्छ’, उनले भने।

अहिले खराब समाचार नभएका कारण बजार बढ्न टेवा पुगेको न्यौपाने बताउँछन्। ‘निक्षेपको ब्याजदर तत्काल नबढ्ने संकेत पाएर पनि लगानीकर्ताहरुले अहिले सेयर बजारमै लगानी गरिरहेको हुन सक्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.५४ प्रतिशतले उकालोको छ। उत्पादन तथा प्रशोधन समूह १.९९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४ प्रतिशत, जलविद्युत समूहमा ०.७२ प्रतिशत र लगानी समूहमा ०.७१ प्रतिशतको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.४५ प्रतिशतले घट्दा वित्त समूहमा ०.१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, अन्य समूहमा ०.६५ प्रतिशत, लघुवित्त समूहमा १.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.१९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१७ का कम्पनीका १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७६५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको आज एचआईडीसीएलको १३ करोड ७६ लाख रुपैयाँ, अपी पावरको १२ करोड ९१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ६५ लाख रुपैयाँ, सीआईटीको ८ करोड ६२ लाख रुपैयाँ, युनिभर्सल पावरको ८ करोड ४४ लाख रुपैयाँ, गुडविल फाइनान्सको ८ करोड १३ लाख रुपैयाँ र अरुण काबेली पावरको ७ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज बुटवल पावर कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।