काठमाण्डौ । सेयर बजारमा बिहीबार झिनो गिरावट आएको छ। 

बजार आज १.०८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७२.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ अंकले घट्दा ३८३.९३ को विन्दुमा ओर्लेको छ। कारोबार हिजोको तुलनामा बढेर सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजार अहिले साइडवेजमै चलिरहेको बताउँछन्। लगानीकर्ता अहिले द्विविधिमा पर्दा बजारले गति लिन नसकेको उनको भनाइ छ। 

पछिल्लो समय सहकारीको समस्याले पनि बजारलाई असर परेको बास्तोला बताउँछन्। ‘पछिल्लो समय रेमिट्यान्स पनि बढ्न नसक्दा पनि बजार प्रभावित बनेको देखिन्छ’, उनले भने। 

पुराना लगानीकर्ताहरु थप लगानी गर्न नसकेको अवस्था रहेको बास्तोलाले बताए। ‘नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने कुरा पनि मन्त्रिपरिषदमै गएर अड्किएको छ’, उनले भने, ‘जसका कारण लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार पनि बढ्न नसकेको हो।’
बजार जानकार सरोज भट्टराई पनि बजार अहिले साइडवेजमै चलिरहेको बताउँछन्। ‘चाडपर्वको सिजनमा बजार प्रायः यस्तै हुन्छ’, उनले भने, ‘यो बेला ठूला व्यापारीले अन्य व्यापारमा जोड दिन्छन्।’

अन्य व्यापारबाट व्यापारी सेयर बजारमा आएपछि र लाभांशको सिजन सुरु भएपछि बजारमा फेरि चमक आउन सक्ने भट्टराईको भनाइ छ। सीआईटीजस्ता संस्थागत लगानीकर्ताहरु पनि ब्याजमै आकर्षित हुँदा बजार बढ्न नसकेको उनको बुझाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक १.३१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.९४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.४६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७९ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत र जीवन बीमा समूहमा ०.५९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक १.९२ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक १२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख रुपैयाँ, रिडी पावरको ४ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ८२ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ३६ लाख रुपैयाँ, अपी पावरको २ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६६ लाख रुपैयाँ, युनिभर्सल पावरको २ करोड ६५ लाख रुपैयाँ र शिविम सिमेन्टको २ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

आज राप्ती हाइड्रो र गणपति लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।