काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक स्थिर रह्यो । बजारका लगानीकर्ताहरुलाई उत्साहित बनाउने नीतिहरु नआउँदा, मनोबल उकास्ने गतिविधि समेत नहुँदा र बैंकिङ च्यानलमा तरलता अभाव भई ब्याजदर समेत बढ्न थालेपछि यसले बजारको गतिविधिलाई सुस्त बनाइदिएको हो । 

अर्कोतर्फ, अधिकांश सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारणसभा समेत गरिसकेको अवस्थामा बजारमा सेयरको खरीद चाप उत्साहजनक देखिएको छैन । यसले समेत नेप्से परिसूचकमा आमूल परिवर्तन ल्याउन नसकेको देखिएको छ । 

नेप्से परिसूचक यो दिन ०.०७ विन्दूको झिनो बढोत्तरीमा सीमित हुन पुग्यो । यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्रीचाप देखिएको छ ।

यहीकारण सेन्सेटिभ इण्डेक्स ०.५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०२ अंकले घटेको छ । 

यो दिन बैंकिङ समूह ३.२९ अंकले घटेको छ भने व्यापार समूह १२.९३ अंक, विकास बैंक समूह ८.९२ अंक, निर्जीवन बिमा समूह १९.३९ अंक, माइक्रोफाइनान्स समूह ६.८३ अंक र म्युचुअल फण्ड समूह ०.०८ अंकले घटे ।

होटल समूहमा ४.४१ अंकको बढोत्तरी भएको यो दिन जलविद्युत समूहमा १.९९ अंक, बित्त समूहमा १.९४ अंक, जीवन बिमा समूहमा १२९.३६ अंक, उत्पादन तथा प्रशोधन समूहमा २.८७ अंक र अन्य समूहमा ४.१५ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नवील बैंकले १ करोड ७५ लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले १ करोड ७३ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४२ लाख, एनआइसी एशिया बैंकले १ करोड २३ लाख, नेशनल माइक्रोफाइनान्सले ९५ लाख, छिमेक लघुवित्तले ८५ लाख, हिमालयन डिस्टीलरीले ७४ लाख, प्राइम कमर्सियल बैंकले ६७ लाख, बैंक अफ काठमाण्डूले ४५ लाख र सानिमा बैंकले ४४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सले सबैभन्दा धेरै कमाए । नेपाल लाइफको सेयर मूल्य ४.७३ प्रतिशतले बढ्यो भने पोखरा फाइनान्सको मूल्यमा ४.४४ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन घोडाघोडी लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो । सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।