काठमाण्डौ । पछिल्लो एक महिनामा नेप्से परिसूचक साढे २०० अंकले उकालो लागेको छ। 

ब्याजदर घट्दै जानु र तरलता पनि सहज हुँदै जाँदा यो एक महिनाको अवधिमा नेप्से २६२ अंकले बढीले उकालो लागेको हो। नेप्से हिजो ३५.३७ अंकले घटेर २१५०.९९ को विन्दुमा बन्द भएको छ। एक महिनाअघि जेठ १६ गते नेप्से १८८८.६२ को विन्दुमा बन्द भएको थियो। 

यो अवधिमा बीमा कम्पनीहरुबाट सेयरधनीहरु मालामाल भएको देखिन्छ। यो एक महिनाको अवधिमा सबैभन्दा बढी रिटर्न दिने शीर्ष १० कम्पनीमा ५ वटा बीमा कम्पनी परेका छन्। 

पछिल्लो एक महिनाको तथ्यांक केलाउँदा सबैभन्दा बढी बिपिडब्लु लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउ २४५ प्रतिशतले बढेको छ। यो अवधिमा ३७२ रुपैयाँ प्रतिकित्ताबाट बढेर १२८५ रुपैयाँ पु्गेको छ। 

त्यसैगरी दोस्रो उच्च रिटर्न दिनेमा सिटी होटेल रहेको छ। हालै दोस्रो बजारमा कारोबारमा आएको यो होटेलको सेयर २४४ प्रतिशतसम्म बढेको छ। दोस्रो बजारमा १२२ रुपैयाँमा कारोबार खुलेको यो होटेलको सेयरभाउ असार १३ गतेसम्म बढेर ४२० रुपैयाँ पु्गेको छ। 

त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भएका छन्। हालै मर्जर प्रक्रिया पूरा गरी भर्खर कारोबार खुलेको यो कम्पनीको सेयरभाउ छोटो समयमै ७५.८ प्रतिशतले उकालो लागेको देखिन्छ। यो कम्पनीको सेयरभाउ ३७३ रुपैयाँबाट बढेर असार १३ गतेसम्म आइपुग्दा ५९८ रुपैयाँमा पुगेको छ। उच्च रिटर्न दिनेमा यो कम्पनी तेस्रो स्थानमा रहेको छ।

यसैगरी धेरै रिटर्न दिने कम्पनीमा सोल्टी होटेल रहेको छ। गत जेठ १६ गते प्रतिकित्ता २९५ रुपैयाँमा कारोबार भएको यो होटेल सेयरभाउ असार १३ गतेसम्म बढेर ५०२ रुपैयाँ कायम भएको छ। यो कम्पनीको सेयरभाउ ७० प्रतिशतले बढेको छ। यो चौथो स्थानमा रहेको छ। 

उता प्रोग्रेसिभ फाइनान्स र सीईडीबी हाइड्रोपावरका सेयरधनीहरु पनि मालामाल भएका छन्। यी कम्पनीको सेयरभाउ क्रमशः ६३.४ प्रतिशत र ६३.१ प्रतिशतले बढेका छन्। यो अवधिमा उच्च रिटर्न दिनमा यी दुवै कम्पनी क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन्। 

धेरै रिटर्न दिनको सूचीमा आइएमई प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स क्रमशः सातौँ र आठौँस्थानमा छन्। यी दुवै कम्पनीको सेयरभाउ पछिल्लो एक महिना क्रमशः ६०.५ प्रतिशत र ६० प्रतिशतले बढेको छ। 

यसैगरी उच्च रिटर्न दिने सूचीको नवौँ र दसौँमा नेपाल इन्स्योरेन्स कम्पनी र सानिमा जीईसी इन्स्योरेन्स रहेका छन्। यी दुवै कम्पनीको सेयरभाउ क्रमशः ५४ प्रतिशत र ५१ प्रतिशतले बढेको छ।