काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले भूकम्पपीडित टर्कीका नागरिकलाई राहत सामग्री सहयोग गरेको छ। 

टर्कीको गएको महाभूकम्पका कारण प्रभाबित भएका नागरिकहरुका लागि मानवीय सहायतास्वरुप  चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामग्रीहरु सहयोग गरेको हो। टर्कीका प्रभावित नागरिकका लागि ५०० थान पस्मिनाका वस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। 

नेपालमा २०७२ सालको विनाशकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एकअर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए। 

चेम्बरले गृह मन्त्रालयमार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो। परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकताअनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ।

चेम्बरले यसअघि अफगानस्तानमा पनि मानवीय सहायताअन्तर्गत आर्थिक सहयोग गरेको थियो। परराष्ट्र मन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्लसहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको थियो।