– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कुनै बेला जलविद्युत कम्पनीका सेयर किन्न भनेपछि लगानीकर्ताहरु नाक खुम्चाउँथे। अहिले जलविद्युत कम्पनीकै सेयर किन्न उनीहरु हारालुछमा उत्रिएका छन्। 

जलविद्युत कम्पनीका सेयरमा पहिले र अहिलेको अवस्थामा आएको सोच परिवर्तनलाई देख्दा पुराना लगानीकर्तामात्रै होइन धितोपत्र खरिदबिक्रीमा मध्यस्थकर्ताको भूमिका निभाइरहेका ब्रोकर हाउसका अधिकारीहरु पनि अचम्ममा परेका छन्। 

नेपालको सेयर बजारमा कुनै समयमा कतिपय जलविद्युत कम्पनीहरुका सेयर १०० रुपैयाँभन्दा तल आएपछि बैंकले लिलामी प्रक्रियासमेत थालेका थिए। जलविद्युत कम्पनीको सेयर भनेपछि सबैले हेँला गर्थे। 

अहिले जलविद्युत कम्पनीहरुका सेयर बजारमा किन्न नपाइएला कि भनेर लगानीकर्ताहरु तँछाडमछाड गरिरहेको अवस्था छ। आजमात्रै १० वटाभन्दा बढी जलविद्युत कम्पनीहरुको सेयरमूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

ब्रोकर नम्बर ३५ कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट अहिले जलविद्युत कम्पनीहरुको सेयर माग अचाक्ली बढेको देखेर अचम्म लागेको बताउँछन्। अझ अचम्मको विषय त के छ भने लगानीकर्ताले यस्ता कम्पनीका लाखौँ कित्ता सेयर ब्रोकर हाउसमा फोनमार्फत माग गरिरहेका छन्, जुन दोस्रो बजारमा बिक्रीमै आएका छैनन्।

ब्रोकर हाउसमा भेटिएका अधिकांश लगानीकर्ता हाइड्रो सेयरको माग र मूल्य देखेर अचम्मित छन्। कति त हिजोअस्ति लाखौँ कित्ता बेचेको र आज १० प्रतिशतले बढेकोमा रनभुल्लमा छन्। कोहिनुरमै भेटिएका एक पुराना लगानीकर्ताले भने, ‘सेयर बजारको भविष्य र गर्भको विषय जान्न मुश्किल रहेछ !’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अप्पर हाइड्रोपावरको पूरै टर्बाइन घुमेकै छैन, मूल्यले हजार छोलाजस्तो भइसक्यो।’

ब्रोकर नम्बर २६ एसियन सेक्युरिटिजका एक अधिकारीले पनि जलविद्युत कम्पनीहरुको सेयरमा आएको उछाललाई ‘डब्बल उछाल’ को संज्ञा दिए। ‘अहिले त हामी निःशब्द बनेका छौँ, सबैले अनलाइनबाट आफैँ खरिद गर्छन्, हाम्रो अफिस त कहाँबाट चलेको छ कहाँबाट, थाहै छैन’, ती अधिकारीले भने, ‘यतिबेला नियामक निकाय भने चनाखो हुनुपर्छ, केही जलविद्युतको कम्पनीको सेयरभाउ त भन्नै नमिल्ने गरी आकसिएको छ, त्यसले भोलि समग्र सेयर बजार बदनाम पनि हुन सक्छ। बढ्नु नराम्रो होइन तर चिलिमे, बुटवल पावरजस्ता कम्पनीको सेयर जहाँको त्यहीँ छ। कुन खोलामा कुन हाइड्रो बनेको छ भन्नेसम्म पत्तो नहुने कम्पनीहरुको यो बढाइले सेयर बजारमा जोखिमा भने अवश्य बढेको छ।’

सरस्वती क्याम्पसका एमबीएम निर्देशक केपी पाण्डे जलविद्युत कम्पनीका सेयरमा लगानी भविष्यका पेन्सनका रुपमा हुने हुँदा अहिले लगानी उचित रहेको बताउँछन्। ‘किनकि हाइड्रो कम्पनीको आम्दानी भविष्य निश्चित हुन्छ’, उनले भने, ‘तर लगानीकर्ताले लगानी गर्दा कम्पनीको आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्दा राम्रो हुन्छ।’

केही जलविद्युत कम्पनीमा ठूला लगानीकर्ताले सट्टेबाजी गरेको पनि हुन सक्ने हुनाले साना लगानीकर्तालाई सचेत हुन पाण्डे सुझाव दिए।