काठमाण्डौ । कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)मा सुरुवाती बेला नै समस्या आएर प्रताडित बने पनि हङ्ग्री लगानीकर्ताका कारण सेयर बजारमा उछाल आएको छ । 

बजार समस्यै समस्यामा भाँसिदा पनि लगानीकर्ताको मनोबल उच्च हुनुले हङ्ग्री इन्भेष्टरको बजार प्रवेश भएको देखिने विश्लेषकहरुले दाबी गरेका छन् । 

सेयर कारोबार हुने नियमित समयको बीचमै टीएमएसमा अवरुद्ध आएतापनि दिउँसो २:१५ बाट पुनः सुचारु भएको धितोपत्र बजारमा दोहोरो अंकको उछालसँगै कारोबार रकमसमेत उल्लेख्य बढेर ३ अर्ब रुपैयाँ नाघेको छ ।

आज बीमा समूहमा निकै आकर्षण देखिएको छ । चुक्ता पूँजी पनि कम र सेयरको आपूर्तिसमेत कम भएकाले लगानीकर्ताहरु बीमामा झुम्मिएका हुन् । 

उसो त पहिलो त्रैमासमा बैंकहरुको रिपोर्ट बीमा कम्पनीहरुको तुलनामा कमजोर आउने अनुमान भइरहेकाले समेत आज बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको विश्लेषकहरुको भनाइ छ ।

धितोमा कर्जा लिएका लगानीकर्ताहरुले बैंकका सेयरहरु धमाधम फुकुवा गरिरहेको र बीमामा नै सो पैसा ओइर्याइरहेकोले समेत बीमा समूूह चम्किएको विश्लेषकहरुको भनाइ छ । 

अधिक आपूर्तिका कारण सेयरमूल्य नबढ्ने र रिटर्न समेत न्यून हुने कारणले समेत लगानीकर्ताहरु बैंक बेचेर बीमा समूहमा सिफ्ट भइरहेका र यसले आगामी दिनमा बीमा कम्पनीका सेयरमूल्यमा उछाल आउने विश्लेषकहरुको दाबीसमेत छ ।

सेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा १९१ कम्पनीका सेयर कारोबार हुँदा कारोबार संख्या ३९ हजार ६१० पटक सेयर कारोबार भएको थियो । 

उच्च खरीद चाप देखिएको साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक(इण्डेक्स) १६.४१ अंकले बढी १५३७.१० विन्दूमा पुगेको छ । यो दिन कारोबार रकममा समेत उछाल आएको छ । दिनभर ३ अर्ब ३६ करोड बढीको सेयर किनबेच(टर्नओभर) भएको हो । 

नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमध्ये आज १९१ कम्पनीका सेयर कारोबार भएको नेप्सेले जनाएको छ । जसमा ९९ कम्पनीका सेयरमूल्यमा बढोत्तरी आएको छ भने ५२ कम्पनीको सेयरमूल्यमा गिरावट आयो । यसैबीच १९ कम्पनीका सेयरमूल्य भने स्थिर रहे ।

यो दिन नेप्सेमा बहार ल्याउने महत्वपूर्ण भूमिका निर्जीवन बिमा, जीवन बिमा, जलविद्युत र होटल समूहले निर्वाह गरेका छन् । 

यो दिन निर्जीवन बिमा समूह ३२५.१५ अंकले बढेको छ भने जीवन बिमा समूहको उपसूचकमा २८३.८८ अंकको उछाल आएको छ । 

जलविद्युत समूह ४०.१५ अंकले बढेको यो दिन होटेल्स समूहमा ५७.९६ अंकको उछाल आयो । 

बैंकिङ समूह यो दिन ५.८२ अंकले बढ्यो भने विकास बैंक समूहमा १.३६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७.०८ अंक, माइक्रोफाइनान्स समूहमा ८.२ अंक, अन्य समूहमा ०.८७ अंकको बढोत्तरी भयो । 

यो दिन व्यापार समूहको उपसूचक २९.२२ अंकले घट्यो भने बित्त समूहमा २.९४ अंक र म्युचुअल फण्ड समूह ०.०८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १९१ कम्पनीका ७१ लाख ७३ हजार ४३३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६८ लाख ५४ हजार ३१४ रुपैयाँमा किनबेच भयो । 
यो दिन नेपाल पुनर्बिमा कम्पनीले २४ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्यो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १९ करोड ३० लाख, नागरिक लगानीकोषले १६ करोड ३९ लाख, शिवम् सिमेन्टले १० करोड ५६ लाख, प्रिमियर इन्स्योरेन्सले १० करोड २५ लाख, नेको इन्स्योरेन्सले ९ करोड ९० लाख, एशियन लाइफले ८ करोड ३५ लाख, यूनाइटेड इन्स्योरेन्सले ८ करोड २९ लाख, शिखर इन्स्योरेन्सले ८ करोड १ लाख र नेपाल इन्स्योरेन्सले ७ करोड ३० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ४ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड र रादी विद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.२४ प्रतिशतले बढ्यो । 

यो दिन नवील ब्यालेन्स फण्ड २ का इकाईधनीले धेरै गुमाए । यो कम्पनीको इकाई मूल्य ९.२७ प्रतिशतले घट्यो । यस्तै, दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ५.१७ प्रतिशतले आफ्नो सम्पत्ति गुमाए ।