काठमाण्डौ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)मा आज पनि समस्या आएको छ । 

बजारमा कारोबार सुरु भएको केही मिनेटमै टिएमएसमा समस्या आएपछि नेप्सेले नियमित कारोबार रोकेको छ । 

केही प्राविधिक गडबडीका कारण टिएमएसमा समस्या आएको नेप्सेको दाबी छ । 

गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा केही घण्टा बजार अवरुद्ध हुन पुगेको थियो । सो समस्या हल गरी सो दिन साँझ ५ बजेसम्म बजार खोल्नु परेको थियो । 

पछिल्लो समय टिएमएसको क्षमता बढाउने विषयमा नेप्से र ब्रोकरहरुबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ । नेप्सेले ब्रोकरहरुले टिएमएसको क्षमता नबढाएका कारण यस्तो समस्या आएको बताउने गरेको छ भने ब्रोकरहरुले नेप्से र नेप्सेकाृे अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइकोका कारण यस्तो समस्या आएको बताइरहेका छन् । 

गत साता बिहीबार टिएमएसमा समस्या आएपछि धितोपत्र बोर्डले नेप्सेलाई स्पष्टीकरण समेत सोधेको थियो । उसले अनलाइन कारोबार प्रणाली र टिएमएसलाई अलग अलग चलाउन निर्देशन दिएको थियो । बोर्डको चासोपछि नेप्सेले समस्याको दीर्घकालीन समाधान खोज्न एक समिति समेत बनाएको थियो ।

तर, सोही समस्या आइतबार समेत दोहोरिएको हो । 

नेप्सेको यो कमजोर नियमन क्षमताप्रति सामाजिक सञ्जालहरुमा लगानीकर्ताहरुले रोष प्रकट गरिरहेका छन् । कतिपयले नेप्सेको टिएमएस र अनलाइन कारोबार प्रणालीलाई नै थोत्रे रेलको संज्ञा दिइरहेका छन् ।