काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणालीअन्तर्गत रहेको टीएमएस(कारोबार व्यवस्थापन प्रणाली)का छिद्रबाट केही बाठा लगानीकर्ताले अनुचित लाभ लिन थालेका छन् । 

रियलटाइम डिम्याट इन्टीग्रेसन नभएकाले लगानीकर्ताले टीएमएसबाट सेयर खरिदबिक्री गर्दा अनुचित दाबी गर्ने अभ्यास बढ्न थालेको हो ।

सिस्टममा अधिक भार परेका कारण कहिलेकाहीँ सेयर लगानीकर्ता स्वयम्ले खरिदबिक्री अर्डर राखे पनि सिस्टमलाई दोष दिई डिल रद्ध गर्न ब्रोकर र बजार सञ्चालक नेप्सेसम्म पुग्ने प्रवृति बढ्न थालेको हो । 

उदाहरण १
प्रकाश बञ्जाराले गत भदौ २८ गते एनआरएनको १००० कित्ता सेयर प्रतिकित्ता रु.३०० मा बिक्रीका लागि ब्रोकरलाई अनुरोध गरे । ब्रोकरले अर्डर पनि हालिदिए । सेयर बजारमा बोली नै प्रतिवद्धता हुने सिद्धान्त छ । तर केही समयपछि लगानीकर्ताले संसोधन गर्न नपाइएको सिस्टम बिग्रेर भनी नेप्से, सिडिएससीसमक्ष हारगुहार गरे ।

उदाहरण २
बञ्जाराले कुनै एउटा सेयर बेच्नु परेमा किने, जबकि उनी आफैं अनलाइन प्रयोगकर्ता हुन् । अनलाइनबाट किनेका बञ्जारासँग सो कम्पनीको ५०० कित्ता डिम्याटमा सेयर थियो । उनले बेच्नुपर्नेमा किने । प्रविधिमा पारङ्गत नहुँदा बञ्जाराजस्ता लगानीकर्ताले बेच्नुका साटो किन्न थालेका छन् ।

माथि २ वटा उदाहरणमा लगानीकर्ताहरुले स्वयनिर्णयका आधारमा सेयर किनबेच गरेका छन् तर प्रविधि र बोलीलाई सही ढंगले प्रयोग नगर्दा ब्रोकर र नेप्सेमा गुनासो र हारगु्हारको चाङ लाग्न थालेको छ । 

सेयर बजारमा दैनिक उत्तारचढाव हुन्छ । ‘मेरो वचन नै मेरो प्रतिवद्धता’ भन्ने सिद्धान्तमा विश्वका सेयर बजार सञ्चालित हुन्छन् । चाहे ब्रोकरलाई फोन वा म्यासेज गरेर वा स्वयम् अनलाइन कारोबार गरेर सेयर किनबेच गर्ने काम नै किन नहोस् ।

लगानीकर्ताले नियतवश नै सिस्टममा कहिलेकाहीँ समस्या भइरहेको दोष सँगसँगै आफूले गरेको भूललाई समेत सच्याउने प्रयास  गरेको पाइन्छ ।

आफूले सेयर बिक्री गरेपछि सेयरको भाउ बढे ‘मैले बेच्न खोजेको थिइँन, किन्न खोजेको थिएँ’ भन्ने र आफूले सेयर खरिद गरेपछि सेयरको भाउ घटे ‘मैले किन्न खोजेको थिइँन, बेच्न खोजेको’ भन्दै बहानाबाजी गरी डिल क्यान्सिल गर्ने घटना हिजोआज बढ्न थालेका नेप्से र ब्रोकर कम्पनीका अधिकारीहरुले बताएका छन् । 

सिस्टम मानवीय नियन्त्रणमा हुँदैन । कहिलेकाहीँ प्राविधिक कारण र अधिक भारले समेत सिस्टमले काम गर्न छाडेको हुन्छ । प्राविधिक कारणले सेयर कारोबार प्रणाली प्रभावित हुँदा बजार सञ्चालक नेप्सेले भूलचूक भएका सेयर कारोबारको म्यानुअली अध्ययन गरेर राफसाफको समयसमेत परिवर्तन गरेर मात्र डिललाई पूर्णता दिइएको छ । 

प्राविधिक गढबढी भएका कारण टीएमएसमा लगानीकर्ताले १ पटकको अर्डर १६ पटकसम्म पनि प्रविष्टि भएकोमा त्यसलाई मानवीय र प्राविधिक त्रूटि ठानी नेप्सेले डिल रद्ध समेत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जबाट पूर्ण अनलाइन कारोबार प्रणालीअन्तर्गत टीएमएसमा लगानीकर्ता र ब्रोकर समाहित छन् ।

सिस्टम भेण्डर कम्पनी वाइको प्रालि र नेप्सेबीच टीएमएस बनाउँदा अफलाइन र अनलाइन गरी कुल ५ लाख र अनलाइन प्रयोगकर्ता १० देखि २० प्रतिशत अर्थात् ५ हजारदेखि १० हजार प्रयोगकर्ताले सेयर किनबेच गर्ने क्षमतामा धान्नसक्ने गरी भएको सम्झौतामा आधारित सिस्टम निर्माण भएको थियो । तर आज मंगलबारसम्ममा ५० ब्रोकर कम्पनीमार्फत १ लाख २ हजार जनाले अनलाइन लगइन र पासवर्ड लिई टीएमएसमा पहुँच पाएका छन् ।

टीएमएसमार्फत लगानीकर्ता आफैंले सेयर किनबेच गर्ने सुविधा पाइरहेका लगानीकर्ताले सेयर खरिदबिक्रीको अर्डर हाल्ने बेलामा समेत ब्रोकरलाई ‘कुन सेयर किनौं’ भनी फोन गरेर हैरान बनाउने गरेको मोफसलका एक ब्रोकरले बताए । 

सेयर किनबेचको निर्णय स्वयम् लगानीकर्ताको हुन्छ, तर निकै हतार समय रहेको नियमित सेयर कारोबार हुने ११ बजेदेखि ३ बजेसम्म फोन गरी सेयर किनबेचको निर्णयमा सल्लाह लिने परिपाटी निकै गलत छ । जसका कारण अर्का लगानीकर्ताले सेयर किनबेचको रियल टाइम सुविधाबाट बञ्चित हुुनुपरिरहेको छ ।

यस्तै, नेपाल स्टक एक्सचेञ्जले समेत अनलाइन कारोबार प्रणालीका विषयमा हालसम्म सचेतनाका लागि एउटा मात्र भिडियो बनाई आफ्नो वेबसाइटमा राखेको जुन निकै सतही मात्र छ । अनलाइन कारोबारका विषयमा यथेष्ट जानकारी प्रदान गर्न अरु २ भिडियो नेप्सेले निर्माण गरी हाल्ने तयारी भइरहेको नेप्सेका अधिकारीहरु बताउँछन् ।

यसैगरी सेयर कारोबार सातामा ५ दिनमात्र हुन्छ । शुक्रबार सेयर कारोबार नहुँदा ब्रोकर कम्पनीले आफ्ना ग्राहकलाई अनलाइन कारोबार प्रणालीका विषयमा र चलाउने तरिका बारेमा जानकारी दिइनुपर्छ । हरेक शुक्रबार २–४ घण्टामात्र  पनि ब्रोकर कम्पनीहरुले सेयर लगानीकर्तालाई सचेतना गर्ने हो भने धेरै समस्या र गनगन हल भएर जान्छ ।

धितोपत्र बजारबारे जनचेतना जगाउने मुख्य कार्य नियामक नेपाल धितोपत्र बोर्डको पनि हो । अनलाइन कारोबार प्रणालीका विषयमा नियामक धितोपत्र बोर्डले समेत मुख्य सहरमा १–२ घण्टाको तालिम र सचेतनामा झारो टार्ने मात्र काम गरिरहेको छ । अनलाइन कारोबार प्रणालीका विषयमा नियामक धितोपत्र बोर्ड र नेप्सेको सहकार्यमा देशभरका लगानीकर्ताहरुलाई प्रविधिमा आधारित सेयर बजारबारे सचेतना फैलाउन आवश्यक छ ।

केही ब्रोकरका अनुसार कारोबार खाता(केवाइसी खाता) औंठाछाप हाल्ने व्यक्तिहरुले समेत अनलाइन कारोबार प्रणालीको लगइन लिन थालेका छन् । जबकि सामान्य औंठा छाप हाल्ने व्यक्तिले कसरी अनलाइन सेयर कारोबार गर्लान यो पनि नियामकले अध्ययन र छलफलको विषय बनाउन जरुरी छ ।