काठमाण्डौ । सेयर बजारमा बढोत्तरीसँगै नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा पुनः समस्या देखिएको छ । 

सामाजिक सञ्जालमा पनि टिएमएसको समस्यालाइ लिएर लगानीकर्ताले आक्रोश पोखिरहेका छन् । 

लगानीकर्ताको मात्र नभई ब्रोकरहरुको टिएमएस पनि चलेको छैन । 

अरु बेलाजस्तै जब–जब बजारले गति लिन्छ, तब तब नेप्सेको टिएमएसमा समस्या देखिने रोग आज पनि दोहोरिएको लगानीकर्ता बताउँछन् । ‘एक घण्टादेखि लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् ।’ लगानीकर्ता गोबिन्दप्रसाद घिमिरेले आक्रोशित हुँदै भने–‘यो त अति नै भयो । बजार बढेसँगै टिएमएसले किन काम गर्दैन ?’

केही समय पहिले टिएमएसमा गम्भीर समस्या आएपछि प्रधानमन्त्री कार्यालयले नै चासो दिएको थियो । त्यहाँबाट चासो दिएपछि मात्र नेप्से र भेण्डर कम्पनी वाइकोले सिस्टम बनाएका थिए । तर, फेरि उस्तै समस्या दोहोरिएको हो । 

टिएमएसमा समस्या आएर लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भइरहे पनि नेप्सेले यो विषयमा आज पनि समयमै जानकारी दिएन । निकै पछि मात्र एक सूचना जारी गर्दै नेप्सेले केही प्राविधिक गडबडीले ब्रोकरको डिएनए अवरुद्ध हुन पुगेको र यसले टिएमएसबाट कारोबार नभएको दाबी गरेको छ । प्राविधिकहरुले समस्या समाधानका लागि काम गरिरहेका भन्दै केही समय धैर्य गर्न नेप्सेले लगानीकर्तालाई आग्रह गरेको छ ।