-भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) सेयर बजार सञ्चालकका रुपमा भन्दा पनि आफ्नो फाइदा र अनुकुल कार्यमा मात्रै तल्लीन रहने परिपाटीले गर्दा बजारमा लगानीकर्ताहरुको विश्वास र भरोसामाथि निरन्तर प्रहार हुने काम भइरहेको छ । 

नेप्सेले सेयर बजारको मजबुत पूर्वाधार खडा गर्नुपर्नेमा कहिले अनलाइन त कहिले नयाँ ब्रोकर लाईसेन्स खुल्ला गर्ने बहाना गर्ने र यस्तै कुरामा सीमित भइदिंदा बजारले आफ्नो विकासको लय समाउन सकिरहेको छैन । 

नेप्सेको संचालक समितिले पास गरिसकेको धितोपत्र कारोबार संचालन विनियमावली,२०७५ को परिच्छेद (६) अक्सन कारोबार संचालन सम्बन्धी व्यवस्थालाई नै ओझेल बनाएर नेप्सेका जिम्मेवार अधिकारी कमिसन र सेटिङ्ग कार्यमै तल्लीन रहने गरेको आरोप समेत लाग्दै आएको छ । 

नेप्सेले हालै संचालनमा ल्याएको भनिएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा दैनिकजसोको लापरबाही र हेल्चेक्य्राई अनि नयाँ ब्रोकर लाईसेन्समा चलखेल गर्न बनाईएको कमिटीमै अलमलिनुभन्दा तत्काल बजारलाई आवश्यक पर्ने अक्सन मार्केट संचालनमा नेप्सेको ध्यान नजानुले आशंकाहरुलाई जन्म दिन्छ ।  नेप्सेले यो काम गर्दा लगानीकर्तालाई मात्र फाइदा हुँदैन नेप्से स्वयम्को समेत आम्दानी बढ्छ र फाइदा हुन्छ । तर, संगठनको आम्दानी बढाउने यो विषयमा नेप्सेका अधिकारी किन लागेका छैनन् भन्ने बिषय रहस्यकै गर्भमा छ ।

अझ अहिले त अनलाइन प्रणालीकै कारणले क्लोजआउटको समस्याले विकराल रुप लिइरहेको छ । 

सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अहिले दैनिक रुपमा ३८ वटासम्म क्लोज आउट हुने गरेको तथ्यांक छ । कारोबार रकम दैनिक सालाखाला ३ लाख ५० हजार रुपैयाँ हुने गरेको छ ।  तथ्यांकअनुसार बजार वियरिस हुँदा समेत क्लोजआउटको समस्या बढिरहेको सिडिएससीले जनाएको छ । 

२०७५ साल साउन १ गतेदेखि यो विनियमावली लागू हुने भनिए पनि नेप्सेका कर्मचारीहरु घाम ताप्दै कानमा तेल हाल्ने परिपाटीले गर्दा समेत सेयर बजारको आवश्यक पूर्वाधारको तयारीमा सन्तोषजनक काम नभएको सरोकारवाला बताउँछन् ।

नयाँ अनलाइन ट्रेडिङमा सिस्टमको गडबडी त छ्दै छ नै अर्डर रिजेक्ट हुने, मार्केट डेप्थ नदेखाउने, फ्लोरसीटमा कारोबारको सही तथ्यांक नदिने , ब्रोकर लगईन निरन्तर रोकावटजस्ता विविध समस्या आइनै रहेका छन् । तर, यस्ता समस्याको विषयमा नेप्सेको आइटी टिम जानकार भए पनि यसको समाधान चाहि निर्क सुस्त गतिमा मात्र हुँदै आएको छ । 

नियमावलीमा भएको व्यवस्था अनुसार नेप्सेले कारोबार सदस्यको उपस्थितिमा बोलकबोल माध्यम वा कारोबार प्रणाली मार्फत अक्सन कारोबार संचालन गर्न सक्नेछ ।  कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्दातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले अक्सन कारोबार मार्फत धितोपत्रको राफसाफ गर्नसक्ने व्यवस्था छ । यसबाट क्लोजआउटको समस्या हल भई लगानीकर्ताहरुलाई राहत हुने त देखिन्छ नै  नेप्से स्वयंको आम्दानीमा समेत राम्रै वृद्धि हुनेछ ।

नेप्सेले बिर्सिएको यो विषयमा समेत तालुकदारहरुले खबरदारी गर्न आवश्यक छ । नेप्से नेतृत्वलाई व्यक्तिमुखी भन्दा पनि संस्था र लगानीकर्ताप्रति जिम्मेवार बनाउन अझ बढी आवश्यकता देखिएको छ । यस्ता अर्जेन्ट व्यवस्थाको कार्यान्वयन समयमा हुन सक्यो भने मात्र बजार व्यवस्थित र मजबुत हुन्छ । नभए, यो वा त्यो बाहनामा बजारलाई कमजोर बनाउने र लगानीकर्ताको मनोबल गिराउने खेल पर्दा पछाडि भइनै रहन्छ । यसप्रति लगानीकर्ताका संघसंगठनहरुले समेत आवाज उठाउन आवश्यक देखिन्छ ।